डडेल्धुरा- कर्मचारी समायोजनपछि सुदूरपश्चिम प्रदेशका अस्पताल चिकित्सकविहीन हुने अवस्थामा छन्।
स्वास्थ्य मन्त्रालयले डाक्टरहरुको पदास्थापन गरेसँगै सुदूरपश्चिमका विभिन्न अस्पतालको उपचार सेवा प्रभावित हुने अवस्था देखिएको हो। कर्मचारी समायोजनसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पदस्थापनको काम अगाडि बढाएपछि सुदूरपश्चिमका अस्पतालहरु विशेषज्ञ डाक्टरविहीन बन्न थालेका हुन्।
सुदूरपश्चिमबाट ११ जना विशेषज्ञ डाक्टरको अन्य प्रदेशमा पदस्थापन भएकोमा सुदूरपश्चिम प्रदेशमा भने अन्यत्रबाट एक जना मात्रै विशेषज्ञ डाक्टरको पदस्थापन हुने सूची प्रकाशन भएको छ। प्रदेशकै सबैभन्दा ठुलो डडेल्धुरा अस्पताल, डडेल्धुरामा विशेषज्ञ डाक्टरको दरबन्दी भए पनि सबै रिक्त रहेका छन्। यस अस्पतालमा १९ जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहेकोमा १३ जना मात्र मेडिकल अफिसर थिए। तर अब समायोजनपछि दरबन्दीका ३ जना मेडिकल अफिसर र २ जना करारमा रहेका चिकित्सक मात्र रहेको अस्पतालको मेसुको जिम्मेवारी पाएका डाक्टर जितेन्द्र कँडेल बताउँछन्। उनी भन्छन्, ‘दरबन्दी अनुसारका चिकित्सक थिएनन् नै। भएका पनि समायोजनपछि गए।’
प्रदेश मातहतका रहेका सेती अस्पताल र महाकाली अस्पतालमा पनि ९औं तहभन्दा माथिका अर्थात् विशेषज्ञ डाक्टरहरु रहेकोमा अधिकांश डाक्टरको पदस्थापन प्रदेश बाहिरका अस्पतालमा भएको छ।
समायोजनपछि अब ३ जना विशेषज्ञ डाक्टर मात्रै सेती अस्पतालमा बाँकी रहेका छन्। सोही क्रममा सेती अस्पतालमा नाक, कान तथा घाँटी (इएनटी) उपचार सेवा ठप्प भइसकेको छ। अस्पतालमा नाक, कान तथा घाँटी विभाग हेर्दै आएका डाक्टर अशोक श्रीपाईलीको भेरी अस्पतालमा पदस्थापन भएपछि १५ गतेदेखि नै उक्त विभाग बन्द अवस्थामा रहेको छ।
महाकाली अस्पतालमा भने ३ जना विशेषज्ञ डाक्टर कार्यरत रहेकोमा २ जनाको प्रदेशबाहिरका अस्पतालमा पदस्थापन भएको छ। स्थापनाकालदेखि नै भएकै दरबन्दीसमेत नपाएको महाकाली अस्पतालले भएका डाक्टरको समेत अन्यत्र पदस्थापन भएपछि सेवा सञ्चालनमै मुस्किल हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हरिकुमार श्रेष्ठ बताउँछन्।
कर्मचारी समायोजन भएसँगै जिल्ला अस्पताल बैतडी पनि चिकित्सकविहीन हुने भएको छ।
अस्पतालका प्रमुख डा जगदीशचन्द्र विष्टको संघमा समायोजन भएपछि जिल्ला अस्पताल चिकित्सविहीन हुने अवस्थामा पुगेको हो। २ जना करारका मेडिकल अधिकृतको पनि समयावधि सकिन लागेको र आफ्नो पनि संघमा समायोजन हुने भएपछि जिल्ला अस्पतालमा समस्या आउने डा विष्टले बताएका छन्। करिब एक वर्षयता जिल्ला अस्पतालमा दरबन्दीका स्टाफ नर्स छैनन्। ३ जना स्टाफ नर्सको दरबन्दी भए पनि पदपूर्ति नहुँदा करारमा राखेर काम सञ्चालन गर्नु परिरहेको डा विष्टले बताए।
प्रदेश सरकारले अस्पतालमा रहेको डाक्टरको पदपूर्तिका लागि बजेट त विनियोजन गरेको छ तर प्रक्रिया अगाडि बढाउन सकेको छैन।