धनगढी- कञ्चनपुरको जिमुवा स्वास्थ्य चौकीका चालक हरेन्द्र धामीले मासिक पाँच हजार रुपैयाँ पारिश्रमिकमा एम्बुलेन्स चलाईरहेका छन्।
धनगढीस्थित फूलवारी स्वास्थ्य चौकीका मणिराम चौधरीले एम्बुलेन्स चलाउन लागेको तीन वर्ष पुग्यो। उनलाई स्वास्थ्य चौकीले अहिले मासिक १२ हजार रुपैयाँ पारिश्रमिक दिने गरेको छ।
मणिराम वा हरेन्द्र मात्रै हाइनन्, कैलाली, कञ्चनपुर लगायत सुदूरपश्चिम प्रदेशका अधिकांस एम्बुलेन्स चालकले न्यून पारिश्रमिकमा काम गरिराखेका छन्।
संघीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आर्थिक वर्ष २०७५/०७६ देखि लागू हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार चार सय ५० रुपैया निर्धारण गरेको थियो। तर, सुदूरपश्चिम प्रदेशका कोही पनि एम्बुलेन्स चालक सरकारले निर्धारण गरेको न्युनतम पारिश्रमिक पाउन नसकेको गुनासो गरिरहेका छन्।
एम्बलेन्स चालक हरेन्द्रका अनुसार स्वास्थ्य चौकीले गत वर्ष मंसिरमा पाँच हजार पारिश्रमिक र एक बिरामी बोकेवापत भाडाबाट आउने रकमको १० प्रतिशत भत्ता दिने निर्णय’ गरेको थियो। उनीभन्दा अघि सोही स्वास्थ्य चौकीको एम्बुलेन्स चालकलाई पनि मासिह पाँच हजार रुपैया पारिश्रमिक र बिरामी बोके वापतको भत्ता दिइने गरेको थियो।
चालक हरेन्द्रले भने– 'स्वास्थ्य चौकीले गत मंसिर महिनामै छ महिनापछि पारिश्रमिक बढाउने भनेको थियो, तर अहिलेसम्म बढाएको छैन।'
फूलवारी स्वास्थ्य चौकीका मणिरामले ‘हरेक वर्ष पारिश्रमिक बढाउँदै जाने भनिएको थियो, तर एक वर्षभन्दा बढि भइसक्यो, पारिश्रमिक बढेको छैन। उनले कैलाली तथा सुदूरपश्चिमबाहेक कोहलपुर, काठमाडौं लगायतका स्थानमा बिरामी बोकेर गएपछिमात्र भाडाको रकमबाट भत्ता पाउने गरेको बताए।
नेपाल सरकारले मजदुरहरूको न्युनतम पारिश्रमिक तोकेको भए पनि स्वयं सरकारी स्वास्थ्य चौकी, अस्पतालका एम्बुलेन्स चलाउने चालकले नै पनि त्यो पारिश्रमिक पाउन सकेका छैनन्। एम्बुलेन्स चालक हरेन्द्र धामी भन्छन्– 'मासिक पाँच हजार रुपैया पारिश्रमिकले सामान्य घर खर्च चलाउन पनि पुग्दैन। त्यस्तै, बिरामी बोकेर बाहिरी जिल्ला गएको वेला पनि पाउने भत्ता रकमले त्यहा“ बस्नु पर्दा खान र बासका लागि अपुग हुने गरेको छ।'
सरकारी अस्पताल वा स्वास्थ्य संस्थामात्र कार्यरत एम्बुलेन्स चालकले मात्रै होइन, निजी स्वास्थ्य संस्थाका एम्बुलेन्स चालकहरूले पनि सरकारले तोके अनुसारको न्युनतम पारिश्रमिक पाउन नसकेको गुनासो गरेका छन्।
लम्की लायन्स क्लवद्वारा सञ्चालित एम्बुलेन्सका चालक खुसीरामले आफुले अहिले मासिक आठ हजार रुपैयामा काम गरिरहेको बताए। उनले भने 'शुरुमा मासिक सात हजार पारिश्रमिक र विराम बोकेवापत दुई सय रुपैया भत्तामा काम गरेको हु। एम्बुलेन्स चलाउन लागेको तीन वर्ष भइसकेको छ, अहिले आठ हजार रुपैया पारिश्रमिक पाउने गरेको छु।'
उनले एम्बुलेन्स चालकहरूले २४ सैं घन्टा तयारी अवस्थामा रहनु पर्ने भएकाले पारिश्रमिक तथा अन्य सेवा सुविधा बढाउनु पर्ने माग गरे। भने 'हामी (एम्बुलेन्स चालक) को एउटै काम भनेको बिरामीलाई स्वास्थ्य संस्था, अस्पतालमा पुर्याउने हो। त्यसैले हामीले सधैं तयारी अवस्थामा रहनु पर्छ। तर, हामीले आफ्नो श्रम अनुसारको पारिश्रमिक पाउन सकेको छैनौं।'
नेपाल एम्बुलेन्स चालक संघका केन्द्रीय सदस्य लक्ष्मण सिंहले‘सरकारद्वारा सञ्चालित अस्पताल सहितका स्वास्थ्य संस्थाहरूले नै एम्बुलेन्स चालकहरूलाई दिनुपर्ने न्युनतम पारिश्रमिकमा विभेद भइरहेको’ बताए। उनका अनुसार सरकारद्वारा सञ्चालित दुई/तीन स्वास्थ्य संस्थाले मात्रै सरकारले तोके अनुसारको पारिश्रमिक उपलब्ध गराएको भएपनि अधिका“स स्वास्थ्य संस्थाले न्यूनतम पारिश्रमिक पनि उपलब्ध गराउन सकेका छैनन्।
सुदूरपश्चिममा एक सय ५० भन्दा बढी एम्बुलेन्स चालक रहेका छन्। तीमध्ये अधिकाँसले न्यूनतम पारिश्रमिक पाएका छैनन्। केन्द्रीय सदस्य सिंहले भने– 'यहाँ झण्डै १० जना चालकले मात्र सरकारले तोकेको न्यूनतम पारिश्रमिक पाएका छन्।' उनले प्रदेशमा रहेका एम्बुलेन्स चालकहरू मासिक पाँच हजारदेखि १२ हजारमा काम गर्न बाध्य भएको बताए।