काठमाडौं – गुणस्तरीय स्वास्थ्य सेवाका लागि सुरक्षित पेशा खुसी चिकित्सक अभियान सुरु भएको छ। नेकपा निकट चिकित्सकहरुको संस्था राष्ट्रिय चिकित्सक संघ नेपाल र अखिल नेपाल प्रगतिशील चिकित्सक संघले अभियान सुरु गरेको हो।
अभियानको शनिबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले औपचारिक सुरुवात गरेका छन्। त्रिवि शिक्षण अस्पताल परिसरमा आयोजित कार्यक्रममा प्रचण्डले अभियानको सुरुवात गरेका हुन्। अभियान सुरु भएको अवसरमा शनिबार यही विषयमा अन्तक्रिया समेत गरिएको छ।
कार्यक्रममा प्रचण्डले स्वास्थ्य क्षेत्रलाई सुरक्षित र मर्यादित बनाउनु पर्नेमा जोड दिए। उनले पेशालाई सुरक्षित र चिकित्सक खुसी हुने वातावरण निर्माणका लागि डाक्टरहरु नै अघि सर्नु पर्ने बताए।
‘चिकित्सकहरु परिवर्तनका संवाहक हुन, त्यसकारण यो पेशालाई मर्यादित बनाउन स्वंय चिकित्सकहरु नै अघि सर्नुपर्छ,’ प्रचण्डले भने, ‘स्वास्थ्य क्षेत्र समजवाद उन्मुख समाजको महत्वपूर्ण आधार भएकाले राज्यले पनि चिकित्सा क्षेत्रका समस्या समाधानका लागि पहलकदमी लिनुपर्छ।’
उनले सेवालाई प्राथमिकता दिने चिकित्सा शिक्षा नीति अहिलेको आवश्यकता रहेको पनि बताए।
नेकपा महासचिव विष्णु पौडेलले स्वस्थ समाजवादका लागि स्वास्थ्य र शिक्षा नीति उत्कृष्ट हुनुपर्ने बताए।
‘नीति बनाएर मात्र हुँदैन त्यसलाई कार्यान्वयन पनि गर्नुपर्छ,’ उनले भने, ‘नीति कार्यान्वयनका लागि चिकित्सकहरुले पनि सक्रिय रुपमा लाग्नुपर्ने हुन्छ।’
कार्यक्रममा राष्ट्रिय चिकित्सक संघका अध्यक्ष डा सन्तोष पौडेलले अभियानको आवश्यकताका विषयमा जानकारी दिए। ‘पेशामा सुरक्षा र मनमा खुशी भएन भने गुणस्तरीय नतिजा आउन सक्दैन,’ उनले भने, ‘त्यसकारण सबै मिलेर चिकित्सा पेशालाई मर्यादित र सुरक्षित बनाउनुपर्छ।’
डा पुष्पमणी खरालले पछिल्लो समय बिरामी र चिकित्सकबीचको सम्बन्धमा समस्या बढीरहेको भन्दै यसलाई समाधान गर्न पनि यो अभियान आवश्यक रहेको बताए।