सुर्खेत– सुर्खेतका ९ वटा स्थानीय तहमध्ये ८ वटा स्थानीय तहका आफ्ना एम्बुलेन्स छैनन्। चौकुने गाउँपालिकाले मात्र एम्बुलेन्स खरिद गरेको छ।
पञ्चपुरी नगरपालिका, वीरेन्द्रनगर नगरपालिका, गुर्भाकोट नगरपालिका, चिङ्गगाड गाउँपालिका र सिम्ता गाउँपालिकाले रेडक्रस, स्वास्थ्य चौकी, सांसद विकास कोषका एम्बुलेन्सहरु प्रयोग गर्दै आएका छन्।
बराहताल गाउँपालिका, भेरीगंगा नगरपालिका, लेकबेसी नगरपालिकामा हालसम्म पनि एम्बुलेन्स छैनन्। भेरीगंगा नगरपालिकामा केही वर्ष पहिले दशरथपुर स्वास्थ्य चौकीबाट बिग्रेको बा१झ ७९०० नम्बरको एम्बुलेन्स ल्याइयो। ‘त्यहाँबाट ल्याएर ३ लाख रुपैयाँ खर्च गरियो, सामग्री हालेको केही महिना त चल्यो, पछि बन्द भयो। फेरि बनाएर चलाइयो, स्वास्थ्य चौकी छिन्चुका प्रमुख नेत्र देवकोटाले भने।
बारम्बार बिग्रेर हैरान भएको र अहिले नयाँ किन्ने भन्दै पुरानो एम्बुलेन्स थन्क्याइएको उनले बताए। अहिले भेरीगंगा नगरपालिका एम्बुलेन्स बिहीन हुनुपरेको छ। उनका अनुसार एम्बुलेन्स दुर्घटनामा परेपछि मुख्य इन्जिन नै गएको थियो।
नगरपालिकामा आफ्ना एम्बुलेन्स नहुँदा चर्को मूल्य तिरेर प्राइभेट गाडीमा बिरामी ल्याएर राजधानी वीरेन्द्रनगरका मेडिकल आउने गरेको बताउँछन् भेरीगंगा नगरपालिका वडा नम्बर १२ का खेम रेग्मी। ‘बिरामी वीरेन्द्रनगर लैजान प¥यो भने प्राइभेट ५ हजार तिरेर जान बाध्य छौं।’
उनले आक्रोस पोखे, ‘यो एम्बुलेन्स यत्तिकै थन्कायो भने नयाँ एम्बुलेन्स आउँछ भन्ने सोचले बेवास्ता गरिएको हो। सबैभन्दा बढी सुत्केरीलाई समस्या भएको छ।’
भेरीगंगाकी उपप्रमुख रेणु आचार्यले यो वर्षमात्र २ वटा एम्बुलेन्स खरिदका लागि २३ लाख बजेट बिनियोजन गरेको बताइन्।
बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले दुई वटा एम्बुलेन्स खरिद गरेर बोर्डरसम्म ल्याए पनि आवश्यक प्रक्रिया नपुगेकोले गाउँपालिकासम्म ल्याउन नसकिएको बताए। ‘हामीले कार्यपालिकाबाट निर्णय गरी खरिद गरिसकेका छौं, भदौ महिना भित्र प्रयोग गर्न पाइने छ,’उनले भने।
वीरेन्द्रनगर नगरपालिकाले यो वर्षभित्र एम्बुलेन्स खरिद गर्र्ने योजना बनाएको छ भने लेकबेसी नगरपालिकाले खरिद प्रक्रियालाई अगाडि बढाइसकेको नगर प्रमुख गगनसिंह सुनारले जानकारी दिए। आज सम्म अरुकै एम्बुलेन्स र पब्लिक गाडीले काम चलाए पनि अबको केही महिना भित्रै नगरपालिकाले आफ्नै एम्बुलेन्स मार्फत सेवा दिने उनले बताए।
सिम्ता गाउँपालिकाले रेडक्रसको एम्बुलेन्स प्रयोग गरिरहेको छ। प्रशासकीय अधिकृत जनक हमालका अनुसार भएको रेडक्रसको एम्बुलेन्स पनि राम्ररी नचलेपछि गाउँपालिकाले अर्को किन्ने निर्णय गरेको छैन। पञ्चपुरी नगरपालिकाले शिवधाम धार्मिक संस्था र प्राथमिक स्वास्थ्य केन्द्र सालकोटको एम्बुलेन्स प्रयोग गर्दै आएको छ।
नगर प्रमुख उपेन्द्रबहादुर थापाका अनुसार नगरले हाललाई तिनै एम्बुलेन्सबाट काम चलाउने योजना बनाएको छ। यस्तै चिङगाड गाउँपालिकाले पूर्व सांसद हृदयराम थानीको सांसद कोषबाट प्राप्त गरेको एम्बुलेन्स प्रयोग गर्दै आएको छ ।