काठमाडौं- विभिन्न माग लिएर आन्दोलनरत माइक्रोबायालोजिष्ट र नेपाल स्वास्थ्य व्यवसायी परिषद्बीच छलफल सकारात्मक रुपमा अगाडि बढेको छ। सोमबार परिषदमा भएको छलफलपछि माइक्रोबायोलोजिस्टले १५ दिनका लागि आन्दोलन स्थगित गरेका छन्।
परिषद्का अध्यक्ष रामप्रसाद भण्डारी लगायतका पदाधिकारीसँग आन्दोलनरत माइक्रोबायोलोजिस्टले छलफल गरेका थिए। छलफलमा परिषद्का रजिष्ट्रार तथा अन्य सदस्यहरुसँग पनि थप छलफल गनुपर्ने भन्दै १५ दिनको समय मागिएको थियो। छलफल सकारात्मक रुपमा अगाडि बढेको र मागका विषयमा थप अध्ययनको समय माग गरेपछि आन्दोलनरत माइक्रोबायोलोजिस्टले १५ दिनका समय दिने निर्णयमा सहमत भएका हुन्।
माइक्रोबायोलोजिस्टहरुले त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत अध्ययन गरेका विद्यार्थीलाई परिषद्मा दर्ता गराउनुपर्ने, पब्लिक हेल्थ माइक्रोबायोलोजी गाइडलाइन निर्माण कार्य अगाडि बढाइ नाम दर्ता प्रक्रिया सुरु गर्नुपर्ने लगायतका ९ बुँदे माग राख्दै आएका छन्।
माग पुरा नभएपछि उनीहरुले माइक्रोबायोलोजिस्ट संघर्ष समिति नै गठन गरेका छन्।
परिषदका अध्यक्ष रामप्रसाद भण्डारीले यस विषयमा दुईवटा अवधारणा जुधेको बताउँदै एउटा समूहले सम्बन्ध लिएकालाई मात्र लाइसेन्स दिनुपर्छ भनेको छ भने अर्कोले २०६८ मा नै अस्थायी दर्ता प्रमाणपत्र दिन हुने अहिले किन नहुने भनेर प्रश्न गरिरहेको जानकारी दिए।
परिषदले ८ वर्षअघि ११६ जनालाई अस्थायी दर्ता प्रमाणपत्र प्रदान गरेको थियो। पछि परिषदले नियमावली उलंघन भयो भनेर स्थायी दर्ता प्रमाणपत्र प्रदान गर्ने काम रोकेको थियो।
२०७१ सालमा कार्यदल गठन भएर परिषद र विश्वविद्यालयको पक्ष बसेर पाठ्यक्रम विश्लेषण गरेर सुझाव दिएको बताउँदै भण्डारीले भने, ‘तर कार्यदलमा एकरुपता नै देखिएन र फेरि अहिले यो समस्या आयो।’
परिषदले अस्पतालमा आधारित रहेर पढेका विद्यार्थीहरुलाई मात्र लाइसेन्स दिने गरेको छ नभए अरुले स्वास्थ्यकर्मीको दर्जा पाउँदैनन्।
त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थानले माइक्रोबायोलोजीको लागि सम्बन्धन लिएको छैन। यस विषयमा बुझ्न खोज्दा संस्थानका प्रमुख डा मेघराज बञ्जाराले मापदण्ड अनुसार नै विद्यार्थीहरुलाई पढाएको तर परिषद कहिल्यै पनि अनुगमनका लागि नआएको बताए। उनी भन्छन् ‘हामीले सम्बन्धनका लागि निवेदन पनि दिएका थियौँ तर अनुगमनका लागि आग्रह गर्दा पनि आउनुभएको छैन।’
संस्थान बाहेक त्रिविकै चिकित्सा शासत्र अध्ययन संस्थान, काठमाडौँ विश्वविद्यालय, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले लाइसेन्स पाएका छन्।
यस्तो छ माइक्रोबायोलोजिस्टको माग
