काठमाडौं- योग विज्ञान, प्राकृतिक चिकित्सा, आयुर्वेद र जडिबुटीका विषयमा पाठ्यक्रम तयार गरिएको छ।
सो सम्बन्धमा सुझाव दिन गठित समितिले पाठ्यक्रम तयार गरी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई सोमबार हस्तान्तरण गरेको हो।
मन्त्री पोखरेलले बैसाख १९ मा योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटी कार्यक्रमको आवश्यकता पहिचान, अध्यापन सम्भाव्यता, पाठ्यक्रम निर्माण परिमार्जन तथा कार्यक्रम सञ्चालन सम्बन्धमा डा हरिप्रसाद पोखरेलको अध्यक्षतामा समिति गठन गरेका थिए।
समितिको प्रतिवेदन बुझ्दै मन्त्री पोखरेलले यो विषय प्राथमिकतामा रहेकोले आवश्यक तयारी र छलफल गरी प्रतिवेदनका सुझाव तत्कालै कार्यान्वयन गर्ने प्रतिवद्धता जनाए।
समितिले कक्षा ९ देखि १२ सम्मको विद्यालय शिक्षामा योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटीसम्बन्धी ऐच्छिक विषयको तत्कालै अध्यापनको व्यवस्था गर्न उपयुक्त हुने सुझाव दिएको छ।
नयाँ पाठ्यक्रममा नेपालको जडिबुडीसम्बन्धी वास्तविक अध्ययन समेटिएको समितिका संयोजक डा पोखरेलको भनाइ छ। समितिले ४ महिना लगाएर प्रतिवेदन तयार गरेको थियो।
समितिका सदस्यहरुमा प्रा डा सञ्जय पोखरेल, प्रा डा नन्दबहादुर सिंह, डा शेषराज आर्चाय, डा जनकबहादुर बस्नेत, डा लेखनाथ पौंडेल, सञ्जिवकुमार राई रहेका थिए। प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्का पाठ्यक्रम विकास महाशाखाका निर्देशक दिपकप्रसाद पौडेल सदस्य सचिव रहेका थिए।