डडेल्धुरा - सुदूरपश्चि प्रदेशका पाँच जिल्लामा डेंगुका बिरामी भेटिएका छन्। यस प्रदेशको सबैभन्दा बढी बिरामी दार्चुला जिल्लामा फेला परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकले देखाएको छ।
तथ्यांक अनुसार सुदूरपश्चिम प्रदेश अन्तर्गत दार्चुलामा ४ जनामा, कैलालीमा ३। कञ्चनपुर र डडेल्धुरामा दुई÷दुई र अछाम जिल्लामा एक जनामा डेंगुको संक्रमण भेटिएको छ।
अहिले देशभरीका ४३ जिल्लामा तीन हजार चार सय १३ जनामा डेंगुको संक्रमण भेटिएको छ। महाशाखाले डेंगु नियन्त्रण बाहिर गइसकेको समेत जनाएको छ।
वर्षातको मौसम सकिएपछि देखिने डेंगु यस वर्ष बर्षा सुरु हुनुअघि नै देखिएको छ।
विगतमा तराईका जिल्लामा देखिने लामखुट्टे पछिल्लो समय पहाडी जिल्लामा समेत देखिन थालेका छन्। सुदूरपश्चिमका विभिन्न पहाडी जिल्ला गरी सात जनामा डेंगुको संक्रमण देखिएको छ।
पछिल्लो समय तापक्रममा आयाएको वृद्धि र यातायातले तराई र पहाड जोडिएसंगै तराईमा रोग सार्ने लामखुट्टे र भुसुना विस्तारै पहाडमा फैलिँदै छ। डेंगु, औलो, कालाजार, इन्सेफलाइटिस जस्ता रोग पहाडी जिल्लामा फैलिन थालेका हुन।
२०३३ अघि पहाडी जिल्लामा यस्ता रोगको विषयमा कसैलाई जानकारी नभएको मलेरिया इन्सपेक्टरका रूपमा काम गरेका करवीर बोहराको भनाई छ।
‘पहाडमा मोटरगाडी पुग्नुअघि लामखुट्टे देखिँदैनथ्यो,’ उनले भने, ‘लामखुट्टेको डरले कुनै समय पहाडका बासिन्दा तराईमा स्थायी रूपमा बसोवास गर्दैनथे, अहिले पहाडमा समेत लामखुट्टेबाट सर्ने रोग देखिन थालेको छ।’
सरकारी तथ्यांकमा पनि २०३६ पछि मात्र सुदूरका पहाडी जिल्लामा औलो नियन्त्रणका कार्यक्रम सञ्चालन भएका देखिन्छन्।
तराईमा प्रकोपको रुपमा रहेको डेंगु पहाडतिर सर्न थालेको पनि उनले बताए।
औसतमा २० देखि २५ डिग्री तापक्रममा यस्ता लामखुट्टे बढी हुने गरेका कारण पनि पहाडी जिल्लामा घातक रोग बोक्ने क्षमता भएका लामखुट्टे बढ्न थालेको स्वास्थ्य निर्देशनालयका निर्देशक गुणराज अवस्थीको भनाई छ।