काठमाडौं– शिक्षण अस्पतालभित्र निर्माणाधीन सुरेश वाग्ले स्मृति केन्द्र भवन निर्माणका विषयमा अध्ययन गर्न संसदीय उपसमिति गठन गरिएको छ। शिक्षा तथा स्वास्थ्य समितिले ८ वर्षदेखि निर्माण पूरा हुन नसकेको उक्त भवनका विषयमा तीन दिन छलफल गरेपछि सांसद अञ्जना बिसंखेको नेतृत्वमा उपसमिति गठन गरेको हो।
तीन सदस्यीय समितिमा सांसदहरु एकबाल मियाँ र सरिता न्यौपाने सदस्य छन्। उनीहरुले भवन निर्माणमा ढिलाइ हुनुका सम्पूर्ण सैद्धान्तिक र प्राविधिक कारणहरु अध्ययन गर्नेछन्। यो समितिले अध्ययन गरेर बनाउने प्रतिवेदनका आधारमा भवन निर्माणमा विलम्ब गर्नेलाई के कारबाही गर्ने निर्क्योल हुनेछ।
बुधबार बसेको समितिको बैठकमा अधिकांश सांसदहरुले ढिलाइ गर्ने निर्माण कम्पनी र मिति थप गर्दै जाने सरकारी निकायका पदाधिकारीलाई कारबाही गर्नुपर्ने माग राखेका थिए।
तीन वर्षमा भवन निर्माण कार्य सम्पन्न गर्ने गरी २०६८ मंसिर २८ गते गौरा कन्ट्रक्सन प्रालि र एटलस इञ्जिनियरिङ एन्ड कन्ट्रक्सन कम्पनी प्रालिसँग सम्झौता भएको थियो।
५५ करोड ५१ लाख २८ हजार ६ सय ४० रुपैयाँमा निर्माण ठेक्का लिइएको भवन हालसम्म पनि निर्माण पूरा भएको छैन। पटक–पटक म्याद थप र भेरिएसन स्वीकृति दिइएको छ। सम्झौताअनुसार काम नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्नुका सट्टा म्याद थपिरहने कार्य गरिएको भन्दै स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय, त्रिभुवन विश्वविद्यालय र चिकित्सा शास्त्र अध्ययन संस्थाका पदाधिकारीहरुसँग छलफल गरिएको थियो।
निर्माणमा ढिलाइ भइरहेको कारण क्यान्सरका बिरामी उपचारबाट वञ्चित भइरहेको बताउँदै सांसदहरुले प्रश्न उठाएका थिए।
सांसद जीवनराम श्रेष्ठले क्यान्सर उपचार केन्द्रको भवन बनाउने प्रक्रियामै क्यान्सर भएको बताउँदै यसको निदान जरुरी रहेको औंल्याए। उनले भने, ‘प्रक्रियामा कहाँ, कसले गल्ति गर्यो पत्ता लगाएर आवश्यक कारबाही गर्नुपर्छ।’
सांसद हितबहादुर तामाङले निर्माण कम्पनीका साथै जिम्मेवार पदाधिकारीमाथि समेत अनुसन्धान हुनुपर्ने कुरा उठाए। सरिता न्यौपाने, सन्तकुमार थारु, नविना लामा, भैरव सिंहलगायतले आफ्ना धारणा राखेका थिए।