काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पदवहाली गरेको १ सय २० दिनपछि सचिव थपलिया विदा भएका छन्। बिदाका कारण यो अवधिमा उनले एक सय १० दिन मात्र काम गर्ने अवसर पाएका थिए।
सोमबार बसेको मन्त्रिपपिरषदको बैठकले सचिव थपलियालाई स्वास्थ्य मन्त्रालयबाट युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरेको छ। थपलियालाई बुधबार स्वास्थ्य मन्त्रालयका कर्मचारीले विदाई गरेका हुन्।
विदाई कार्यक्रममा सचिव थपलियाका तर्फबाट उपसचिव भानुभक्त निरौलाले प्रगति विवरण प्रस्तुत गरेका थिए।
कार्यक्रममा सचिव थपलियाले मंसिरपछि पुनः स्वास्थ्यमा फर्केर आउने कुरा समेत बताएको कार्यक्रममा सहभागि एक कर्मचारीले जानकारी दिए। ‘उहाँले स्वास्थ्यमा धेरै काम गरेको र केही काम अगाडि बढीरहेको समयमा सरुवा भएको भन्दै मंसिरपछि पुनः स्वास्थ्यमा आउँछु भन्नुभयो,’ ती कर्मचारीले भने।
उनका अनुसार विदाई कार्यक्रममा राज्यमन्त्री डा सुरेन्द्र यादवलाई पटक पटक फोन गरेर बोलाइएको थियो। तर, राज्यमन्त्री यादव कार्यक्रममा नआएपछि सचिव थपलिया निराश भएका थिए।
थपलिया गत बैशाख ११ गते स्वास्थ्य मन्त्रालयमा पदवहाली भएका थिए। मन्त्रालयमा प्रवेश गरे लगत्तै स्वास्थ्यका समस्या मिलेर समाधान गर्न तर्फ लाग्ने बताएका सचिव थपलियालाई सरकारले स्वास्थ्यमा जम्मा १ सय १० दिन मात्र काम गर्ने अवसर दियो।
थपलियालाई गत वैशाख २ गते बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्यमा ल्याउने निर्णय गरेको थियो। उक्त निर्णयको ९ दिनपछि स्वास्थ्यमा हाजिर भएका सचिव थपलियालाई मन्त्री उपेन्द्र यादवले विगतका प्रशासन तर्फका सचिवलाई भन्दा बढी जिम्मेवारी दिएका थिए।
स्वास्थ्यमा प्रशासन र स्वास्थ्य सेवाका तर्फ गरी २ जना सचिव छन्।
थपलियाको सरुवा गरेर सरकारले शिक्षा तथा प्रविधि मन्त्रालयका सचिव खगराज बराललाई स्वास्थ्यमा ल्याउने निर्णय गरेको छ। उनी सोमबार मात्र स्वास्थ्यमा हाजिर हुन आउने बताइएको छ।