डडेल्धुरा- डडेल्धुराको भित्री मधेसमा पर्ने परशुराम नगरपालिका–८ जमरानीमा ‘हैजा’ को प्रकोप देखिएपछी सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार मन्त्री पठान सिँह बोहरा सहितको टोली प्रभावित क्षेत्रमा पुगेको छ।
नगरपालिका अन्तर्गत वडा नम्बर ८ को सानखोला, धादलीफाटा र गुप्तेगाडामा हैजाको महामारी फैलिएको सूचना पाएपछि मन्त्री बोहरा सहित डडेल्धुराका प्रमुख जिल्ला अधिकारी तथा सम्पुर्ण सुरक्षा निकाय, परशुराम नगरपालिका नगरप्रमुख र चिकित्सकको टोली प्रभावित क्षेत्रमा पुगेको होे।
हैजाको प्रकोप अत्याधिक भएको खबर पाएपछि औषधि सहित टोली उक्त प्रभावित क्षेत्रमा पुगेको डडेल्धुरा प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलले जानकारी दिए।
बिरामीको संख्या ८५ पुग्यो
दुषित खानेपानीको कारण हैजा फैलिँदा ती तिन गाउँमा ८५ जना बिरामी परेका छन्। सबै बिरामीमा हैजा देखिएको साँदनी स्वास्थ्य चौकीका प्रमुख आनन्दकुमार यादवले जानकारी दिए।
‘गाउँबाट माथी रहेको मुहान दुषित भएकाले दुषित पानीबाट नै हैजा फैलिएको हो’ उनले भने ‘पानीमा दिशामा पाईने ‘कोलीफर्म’ अन्र्तगतको ‘भिब्रियो कोलेरा’ ले महामारी फैलीएको पाइएको छ।’ उनले बिरामीको उपचार भइरहेको जानकारी दिए।
प्रभावित क्षेत्रबाट पानीको नमुना परिक्षणका लागी डडेल्धुरा अस्पतालमा पठाइएको थियो। उक्त नमुना ल्याबमा चेकजाँच गर्दा हैजा फैलाउने ‘भिब्रियो कोलेरा’ नामक ब्याक्टेरीया भेटीएको डडेल्धुरा अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी भुषालले जानकारी दिए।
विगत ९ दिनबाट रातदिन स्वास्थ्यकर्मीको टोली उक्त स्थानमा काम गरीरहेको परशुराम नगरपालीका स्वास्थ्य शाखाका उप–संयोजक हिक्मत धामीले जानकारी दिए।
साउन २९ गते झाडापखालाको प्रकोप देखिएको हो। हामीले गाउँमा स्वास्थ्य शिविरको आयोजना गरेका छौं, स्वास्थ्यकर्मी पनि खटाएका छौं’ उनले भने।