प्रधानमन्त्री केपी शर्मा ओली थप उपचारका लागि आज सिंगापुर गएका छन्। प्रधानमन्त्रीको स्वास्थ्यका विषयमा आधिकारिक सूचना बाहिर नआएको भन्दै आलोचना भएपछि उनकी निजी चिकित्सक डा दिव्या सिंह शाहले बिहीबार एक विज्ञप्ति जारी गरी आधिकारिक जानकारी बाहिर ल्याइन्।
डा शाहका अनुसार प्रधानमन्त्रीको मिर्गौलासम्बन्धी एन्टीबडीको मात्रा केही बढी रहेको छ। सोही एन्टीबडीलाई शरीरबाट निस्कासन गरी निराकरण गर्ने उपचार विधिलाई निरन्तरता दिन प्रधानमन्त्री सिंगापुर गएको उनको विज्ञप्तिमा उल्लेख छ। १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्रीको शरीरमा बढेको एन्टीबडी केहो? यसको समाधानको उपाय के हो? यिनै विषयमा स्वास्थ्यखबरकी कल्पना पौडेलले वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा ऋषिकुमार काफ्लेसँग कुराकानी गरेकी छिन्ः
मानिसको शरीरमा प्रत्यारोपण गरेको मिर्गौलाविरुद्ध शरीरले उत्पादन गरेको हानि गर्ने तत्वलाई एन्टीबडी भनिन्छ। त्यसले प्रत्यारोपण गरेको मिर्गौलालाई नोक्सान गर्छ। क्रिएटिनिन बढ्नु भनेको शरीरले एन्टीबडी बनायो भनेर बुझ्नुपर्छ।
धेरैजसो एन्टीबडी मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिमा देखिन्छ। यदि मिर्गौला प्रत्यारोपण गर्नुअघि नै एन्टीबडी देखियो भने त्यसको उपचार गरेर एन्टीबडी पूरै निकालेर मात्र प्रत्यारोपण गर्नुपर्ने हुन्छ। तर यस्तो केस निकै कम हुन्छ।
प्रत्यारोपण नगर्दै एन्टीबडी देखिएमा प्रत्यारोपण गर्नै मिल्दैन। उपचारपछि मात्रै गर्नुपर्ने हुन्छ। प्रत्यारोपण गरेको मानिसको शरीरको एन्टीबडी देखियो भने त्यसको दुई तरिकाले उपचार हुन्छ।
एउटा औषधि चलाएर एन्टीबडी घटाउने र अर्को, शरीरमा भएको एन्टीबडी निकाल्ने। यसरी शरीरमा भएको एन्टीबडी निकाल्ने कार्यलाई प्लाज्माफेरेसिस भनिन्छ।
एन्टीबडी शरीरको झोल पदार्थमा हुने गर्छ। यसलाई झिक्ने प्रोसेस हुन्छ। बिरामीको अवस्था हेरी ५/६ पटकसम्म प्लाज्माफेरेसिस गर्नुपर्ने हुन सक्छ। यो हरेक दिन गर्न मिल्दैन। दिन बिराएर गर्नुपर्छ।
प्रधानमन्त्रीको मिर्गौला यसअघि नै प्रत्यारोपण गरिएको थियो। अहिले उहाँको मिर्गौलामा एन्टीबडी बढेको भनिएको छ। औषधि चलाएर वा प्लाज्माफेरेसिस गरी एन्टीबडी निकाल्ने प्रोसेस सुरु भयो भने उहाँको उपचारमा कम्तीमा दुई हप्ता समय लाग्ने सम्भावना रहन्छ। यो प्रोसेस सुरु भएपछि नसक्दासम्म यता आउन मिल्दैन।
यदि एन्टीबडी घट्यो भने क्रिएटिनिन सामान्य अवस्थामा आउँछ। वा कम हुन्छ। त्यसो भयो भने स्वास्थ्यमा सुधार भएको मानिन्छ। होइन भने मिर्गौलाले काम गर्न छोड्यो भन्ने बुझ्नुपर्छ। त्यसपछि मिर्गौला प्रत्यारोपण गर्नुपर्ने हुन्छ।
सामान्य भाषामा बुझ्दा एन्टीबडी बढ्नु भनेको प्रत्यारोपण गरेको शरीरले अर्काको मिर्गौला राखिएको छ भन्ने थाहा पाउनु हो। र, त्यसले रियाक्ट गर्न थाल्यो भन्ने हो।
प्रत्यारोपण गरेको मिर्गौलाले कति समयसम्म काम गर्छ भनेर ठ्याक्कै भन्न सकिन्न। त्यो उमेर र रगत समूहमा फरक पर्न सक्छ। सबै रगत समूह मिलाएर वा सबै कुराको म्याच गरेर गरिएको छ कि छैन भन्ने कुरामा निर्धारित हुन्छ।
स्वस्थ, युवा उमेरको व्यक्तिको मिर्गौला झिकेर प्रत्यारोपण गरिएको छ भने लामो समय काम गर्छ भन्ने हो।
अर्को कुरा, जो व्यक्तिमा प्रत्यारोपण गरिएको छ, उसले जीवनभर औषधि सेवन गर्नुपर्ने हुन्छ। उक्त व्यक्तिले औषधि खाँदा उसको शरीरले कतिसम्म धान्न सक्ने क्षमता छ, त्यसमा पनि भर पर्छ।