काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पछिल्लो ९ महिनामा चौँथो सचिव आउने भएका छन्। मन्त्रालयमा गत वर्षको असोजदेखि नै सचिव सरुवाको श्रृंखला सुरु भएको हो।
स्वास्थ्य सेवा अन्तर्गतकी सचिव डा पुष्पा चौधरीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गर्ने निर्णय भएदेखि नै मन्त्रालयमा सचिव आउने र जाने क्रम चलिरहेको छ।
गत वर्षको २८ असोजमा सचिव डा चौधरीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्ने निर्णय भएपछि मन्त्रालयमा प्रशासन तर्फका तीन जना सचिव आएर गइसकेका छन् भने चौँथो सचिवका रुपमा खगराज बराल आउने भएका छन्।
नयाँ सचिव बरालले सोमबार जिम्मेवारी सम्हाल्ने बताइएको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मन्त्रालयमा रहेका सचिव रामप्रसाद थपलियालाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गर्दै शिक्षा मन्त्रालयमा रहेका सचिव बराललाई ल्याउने निर्णय गरेको हो। उक्त निर्णय अनुसार थपलिया स्वास्थ्यबाट विदा भइसकेका छन्।
छोटो समयमा सचिव सरुवाको खेलका कारण स्वास्थ्य मन्त्रालयको काम भने प्रभावित भइरहेको छ। स्वास्थ्यमा नियमत काम समेत प्रभावकारी रुपमा हुन सकेको छैन। कर्मचारी समायोजनको विषय सबैभन्दा बढी पेचिलो विषय बनेको छ। समायोजनको विवाद नसुल्झिँदा स्वास्थ्यका सबै काम अस्तव्यस्त बन्न पुगेको छ।
तर, स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई भने यी विषयमा खासै चासो छैन।
सचिव सरुवाको श्रृंखला नरोकिएपछि स्वास्थ्यका कर्मचारीले मन्त्रीलाई समस्या समाधान गर्नेतर्फ भन्दा पनि बढाउने तर्फ लागिरहेको आरोप लगाउन थालेका छन्।
'समायोजनको काम अलपत्र रहेको समयमा पटक पटक सचिव चलाउने काम हुँदा थप समस्या बल्झिरहेको छ,' मन्त्रालयका एक कर्मचारीले भने, 'यही समयमा डेंगु, झाडापखला, हैजा जस्ता सरुवा रोग देशका विभिन्न स्थानमा फैलिरहेको छ तर मन्त्री भने सचिव सरुवा मात्र गरेर बस्नु भएको छ।'
को सचिव कहिले आए, कहिले गए?
स्वास्थ्यमा एक जना सचिव रहने व्यवस्था थियो। तर, मन्त्री यादवले सचिव चौधरीलाई हटाएर प्रधानमन्त्री कार्यालयको अतिरिक्त समूहमा सरुवा गरेपछि विवादले उग्र रुप लिएको हो। सचिव चौधरीले उक्त निर्णयविरुद्ध सर्वोच्चमा मुद्दा हालिन्।
उक्त मुद्दाको अन्तिम टुंगो नलाग्दै सरकारले मन्त्रालयमा प्रशासन तर्फका केदारबहादुर अधिकारीलाई मंसिर १७ गते स्वास्थ्य सचिवका रुपमा मन्त्रालयमा पठायो। अधिकारीले मंसिर २४ गते मात्र मन्त्रालयमा आएर जिम्मेवारी सम्हाले।
यता सर्वोच्चले डा चौधरीकै पक्षमा फैसला गर्यो। सर्वोच्चको उक्त फैसलापछि मन्त्रालयमा दुई जना सचिव भए। दुई जना सचिव भएपछि जिम्मेवारीका विषयमा विवाद उत्पन्न हुन थालेको हो।
जिम्मेवारीका विषयमा चित्त नबुझेपछि अधिकारीले सरुवाको माग गरे। सरकराले माघ ३ गते अधिकारीलाई स्वास्थ्यबाट सरुवा गरेर अर्का सचिव चन्द्र घिमिरेलाई ल्याउने निर्णय गर्यो।
अधिकारी गएपछि घिमिरेले स्वास्थ्यमा जिम्मेवारी सम्हाले। तर, घिमिरे पनि लामो समय स्वास्थ्यमा बस्न सकेनन्। उनको पनि वैशाख २ गते सरुवा भयो।
सरकारले घिमिरेलाई स्वास्थ्यबाट सरुवा गरेर रामप्रसाद थपलियालाई जिम्मा दियो। कर्णाली प्रदेशको प्रमुख सचिव रहेका थपलियाले वैशाख ११ गते स्वास्थ्यमा आफ्नो जिम्मेवारी सम्हाले।
तर, थपलियालाई पनि सरकारले सोमबार सरुवा गरेर बराललाई ल्याउने निर्णय गरेको छ।
यो पनि :