काठमाडौं- सरकारले करिब ८० जना वरिष्ठ सहसचिवको एकैपटक प्रदेशमा सरुवा गरेको छ। सरुवा हुनेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव मधुसुदन बुर्लाकोटी पनि रहेका छन्।
उनको प्रदेश ३ मा सरुवा भएको बताइएको छ। तर बुर्लाकोटीले अहिलेसम्म आफूले सरुवाको पत्र नपाएको बताए।
सहसचिव बुर्लाकोटी सहित एकै पटक ८० जनाको सरुवाको प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको छ। सरुवा भई जाने स्थान पनि तय भइसकेको र अब पत्र दिन मात्रै बाँकी रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतले जनाएको छ।
बुर्लाकोटी अघिल्लो वर्षको वैशाखमा स्वास्थ्यमा आएका थिए। त्यसअघि उनी उद्योग मन्त्रालयमा थिए।
स्वास्थ्यमा रहँदा उनलाई सुरुमा प्रशासन महाशाखाको जिम्मा दिइएको थियो। तर, पछि उनलाई मन्त्रालयकै जनसंख्या महाशाखाको जिम्मेवारी दिइएको थियो।