चितवन - जिल्लामा डेंगुको सङ्क्रमण बढ्दै गएपछि डेंगु र स्क्रवटाइफसको परीक्षणका लागि कीटको अभाव देखिएको छ। स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार पछिल्लो पटक आएको ३५० कीटमध्ये अब जम्मा ५० कीटमात्रै बाँकी रहेको छ।
साउन २९ गतेमात्रै कार्यालयमा कीट आएको थियो। कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार कीटको अभावमा अस्पताललाई आवश्यक मात्रामा उपलब्ध गराउन सकिएको छैन। माडीमा रहेको बघौडा अस्पतालमा कीट उपलब्ध गराउन सकिएको छैन भने रत्ननगर वकुलहर अस्पतालमा पनि मागअनुसारको उपलब्ध गराउन नसकिएको उनले जानकारी दिए।
जिल्लामा केही दिनयता डेंगुको सङ्क्रमण बढ्दो रहेको छ। उनका अनुसार भदौ ६ गतेसम्म जिल्लामा ५६७ को परीक्षण गरिएकामा २२५ मा डेंगुको सङ्क्रमण भेटिएको हो। भेटिएकामध्ये ४० प्रतिशत भरतपुर महानगरपालिकाको रहेको उहाँले जानकारी दिनुभयो। यसमा १४० चितवन र तीमध्ये पनि १०२ जना महानगर भित्रका रहेका छन्।
कीटको अभावका कारण बिरामीको परीक्षणमा समस्या नहोस् भनेर अहिले ५० वटा कीट राखिएको र थप कीट माग गरिएको केसीले बताए। डेंगु नियन्त्रणका लागि अहिले ‘लार्भा खोज र नष्ट गर’ अभियान सम्पन्न गरिएको भए पनि जनचेतनामूलक कार्यक्रमलाई तीव्र पारिएको उनको भनाइ थियो।
स्थानीय तहहरुसँग समन्वय गरी डेंगु नियन्त्रणका लागि कम भइरहेको कार्यालयका प्रमुख दीपकप्रसाद तिवारीले जानकारी दिए। अहिले महानगर क्षेत्रलाई बढी महत्वका साथ हेरिएको भए पनि सबै स्थानीय तहहरुसँगको समन्वयमा डेंगुसम्बन्धी सचेतना जगाउने काम भइरहेको उनले बताए। रासस