काठमाडौं- पूर्वस्वास्थ्यमन्त्री गगन थापाको अगुवाइमा जीवन बचाउने अभियान अन्तर्गत स्तन तथा पाठेघर क्यान्सरको निःशुल्क परीक्षण शिविरमा ५ सय ५० जनाले सेवा लिएका छन्। मैतिदेवी मन्दिर पछाडी रहेको सनवे इन्टरनेसनल बिजनेस स्कुलमा शनिबारसम्ममा ५ सय ५० पाठेघर तथा स्तनको क्यान्सर परीक्षण गरिएको शिविरले जानकारी दिएको छ।
प्रत्येक शनिबार बिहान १० देखि ३ बजेसम्म सञ्चालन हुँदै आएको उक्त शिविरमा पाठेघर परीक्षण गराएकामध्ये ३० जनाको पाठेघरमा समस्या देखिएकाले अस्पतालमा रिफर गरिएको शिविरका कोअर्डिनेटर दिपेश तामाङले बताए।
२०७६ जेठ ११ गते शनिबारबाट सुरु भएको उक्त शिविर भदौ ७ गतेसम्म संचालन भएको हो। अभियानका लागि १० ओटा शिविर संचालन गर्ने भनिए तापनि सो भन्दा अगावै परीक्षण सम्पन्न भएको तामाङ्ले बताए। 'वडा नं ३० मा शिविरको कार्यक्रम प्रभावकारी रह्यो। वडाका सबै टोलका महिला दिदीबहिनीलाई छोटो समयमै समट्न सफल भयौं। १० हप्ता लाग्ला भन्ने अनुमान थियो। तर सो भन्दा अगावै काम सम्पन्न भएको छ,' उनले भने।
थापाको अगुवाईमा सुरु भएको सुरु भएको यो अभियानले सो वडाका प्रत्येक घरको स्वास्थ्य स्थिति सर्वेक्षण समेत गर्दैछ।
शिविरको मेडिकल सहयोगी केयर नेपाल र नेपाल क्यान्सर रिलिफ सोसाइटी रहेको छन्। शिविरलाई कामना सेवा विकास बैंक, मानव स्वास्थ्य र काठमाडौं महानगरपालिका वडा नम्बर ३० ले पनि सहयोग गरेको छ।