काठमाडौं– दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट सामूहिक राजीनामा दिएका चिकित्सकहरुले उपकुलपतिसमक्ष ८ बुँदे माग राख्दै काम फर्कने वातावरण बनाउन वा राजीनामा स्वीकृत गर्न माग गरेका छन्।
भदौ ६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले चरम मानसिक पीडा खेप्नु परेको भन्दै सामूहिक राजीनामा दिएका थिए।
चिकित्सकहरुले सामूहिक राजीनामाबारे उपकुलपतिले भ्रामक प्रतिक्रिया दिएको आरोपसमेत लगाएका छन्।
भदौ ७ गते प्रेस विज्ञप्ति जारी गर्दै ‘सामूहिक राजीनामाबारे उपकुलपति अस्पताल, यस क्षेत्रका बिरामी, चिकित्सक र कर्मचारीप्रति अनुत्तरदायी रहेको स्पष्ट हुन्छ,’ उल्लेख गरेका छन्।
चिकित्सकहरुले प्रतिष्ठानबाट भर्खरै बर्खास्त डा मनोज यादवको ससम्मान पुनर्वहाली गर्नुपर्ने र करार अवधिभर काम गर्न पाउनुपर्ने पहिलो माग गरेका छन्।
सबै चिकित्सक लगायत कर्मचारीलाई कुनै डरधम्की, मानसिक यातना नदिई बिरामी जाँच गर्ने वातावरण मिलाउनुपर्ने, ऐनअनुसारका बिदा, सेवासुविधामा अवरोध नगर्न, प्रतिष्ठानभित्रै चिकित्सक हुँदाहुँदै बिरामी रेफर गर्ने काम गरी चिकित्सकलाई हतोत्साहित नगर्न, डा वर्षा मानन्धरलाई प्रतिष्ठानको नियमानुसार नियुक्ति गरे पनि नेपाल सरकारको अनुसारको मात्रै तलब सुविधा दिइएको भन्दै मनोमानी रवैया तत्काल बन्द गर्नुपर्ने लगायतका माग राखेका छन्।