काठमाडौं– पूर्वाञ्चल विश्वविद्यालय, चिकित्साशास्त्र संकाय डिनको कार्यालय, विराटनगरमा कार्यरत मुख्य अधिकृत गिरिराज कोइराला विरूद्ध विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।
काठमाडौंस्थित कलेजका विद्यार्थीहरूको समस्या समाधान गरिदिने भनी घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले प्रमुख प्रशासकीय अधिकृत कोइरालालाई नियन्त्रणमा लिएको थियो। सेवाग्राहीसँग ६ लाख ७५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियारको टोली उनलाई नियन्त्रणमा लिएको हो।
अनुसन्धानको क्रममा कोइरालाले सेवाग्राहीले विश्वविद्यालयलाई जरिवाना स्वरूप तिर्नु, बुझाउनुपर्ने रकम मिलाइदिने प्रयोजनको लागि घुस/रिसवत लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको स-प्रमाण पुष्टि हुन आएको अख्तियारद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
निजलाई बिगो ६ लाख पचहत्तर हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ङ) बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको बताइएको छ।