दाङ- दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले अस्पतालनमा कार्यरत १२ जना चिकित्सक एकैपटक बर्खास्त गरेको छ। एकैपटक ठूलो संख्यामा चिकित्सक बर्खास्त भएपछि उपचारका लागि आएका बिरामीले सास्ती व्यहोर्नु परेको छ।
ऐनविपरीत काम गरेको भन्दै प्रतिष्ठानले एकैपटक करारका १० जना र नेपाल सरकारका विषशेज्ञसहित १२ जना चिकित्सकलाई कारबाही गरेपछि अस्पतालको सेवा प्रभावित भएको हो। प्रतिष्ठानले नेपाल सरकारका चिकित्सकहरूलाई पनि अस्पतालमा हाजिर नगरी स्वास्थ्य मन्त्रालयमा सम्पर्क गर्न भन्दै पत्र काटेको जनाएको छ।
उपकुलपति डा. संगिता भण्डारीसहित ४ जना डाक्टरको समूहले ओपिडीमा बिरामी जाँच्ने काम गरिरहेका छन्। तर २७ जना चिकित्सकले दिँदै आएको सेवा ४ जनाबाट मात्र प्रदान गर्नु परेपछि अस्पतालमा बिरामीले लामो समय कुर्नु परेको छ। उपचारका लागि अस्पताल पुगेका कतिपय बिरामी उपचार बिना फर्किनु परेको छ।
'जचाउन आएको थिएँ, डाक्टर छैनन् पछि आउनु भनेर फर्काए,' स्वासप्रश्वासको समस्या लिएर अस्पताल पुगेका घोराहीका कुलबहादुर बुढामगरले भने। तर उनलाई नाम दर्ता गर्ने स्थानमा टिकट दिइएन।
अस्पतालमा आएका बिरामीलाई निजी मेडिकलमा जाँच गराउने, निजी प्रयोगशालाको प्रयोग गर्ने गरेको स्थानीयको आरोप छ।
सरकारी डाक्टर र प्रतिष्ठानका डाक्टरबीच सेवासुविधाको हिसाबले पनि फरक छ। नेपाल सरकारका चिकित्सकहरूले प्रतिष्ठानको नियम मान्न तयार नभएकाले मन्त्रालयमा फिर्ता पठाउनु परेको उपकुलपति डा. संगिता भण्डारीको भनाइ छ। 'प्रतिष्ठानको नियम नमान्ने कसैलाई छुट छैन। या त नियम मान्नुस् नत्र काम गराउन सक्दैनौं,' उनले भनिन्।
यता चिकित्सकहरूले प्रतिष्ठान आफूहरूप्रति पूर्वाग्रही ढंगले लागेको बताएका छन्। प्रतिष्ठानको नेतृत्वमा भएका खराब नियतका कारण यस्तो अवस्था आएको चिकित्सकको भनाइ छ।
अस्पतालका फिजिसियन डा. दिनेश उप्रेतीले उपकुलपति पूर्वाग्रही भएर यस्तो निर्णय गरेको बताए। 'एक जना चिकित्सकलाई बिना कारण निलम्बन गर्ने काम गरेकोले अस्पतालका चिकित्सक एक भएका हुन्,' उनले भने। सोही विषयलाई लिएर अहिलेको अवस्था आएको उनको भनाइ छ।
अस्पतालका चिकित्सकलाई कारबाही गरेपछि चिकित्सक अभाव टार्न तत्काल पदपूर्ति गर्ने र समान प्रकृतिका संस्थामा जनशक्ति माग गर्ने योजना प्रतिष्ठानले बनाएको छ।
ठूलो संख्यामा चिकित्सक निकालिएपछि उत्पन्न समस्या समाधान गर्न नयाँ चिकित्सकको भर्नाका साथै समान प्रकृतिका संस्थाबाट चिकित्सक मगाउने तयारी गरेको प्रातिष्ठानका रजिस्टार रामप्रसाद प्याकुलेरले जानकारी दिए।
व्यवस्थापन र कर्मचारीबीचको विवादमा सेवाग्राही भने अन्यौलमा परेका छन्। प्रतिष्ठान भित्रको विवाद समाधान गर्नभन्दा पनि प्रतिष्ठानले यसलाई जुँगाको लडाईंका रुपमा लिएको कतिपयको बुझाइ छ। तर सेवाग्राही वा बिरामीहरुलाई असर नहुने गरी तत्काल विवाद समाधान गर्न समन्वय र सहकार्य गर्न स्थानीय तथा बिरामीको माग छ।