काठमाडौं- देशभर डेंगुको प्रकोप फैलिएको छ। तीन महिना अघि देखिएको डेंगुले अहिले महामारीको रुप लिएको छ। तर कीटजन्य रोग डेंगु नियन्त्रणमा आउन सकेको छैन।
देशका विभिन्न भागमा डेंगु परीक्षण गर्ने कीटको अभाव रहेको र एक लाखभन्दा कम प्लेटलेस भएका मानिसको परीक्षण गर्न नसकेकाे भन्दै संसदमै पनि प्रश्न उठेको छ।
देशभर प्रकोपको रुपमा फैलिएको डेंगु नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले कदम नचालेको भन्दै सांसद खगराज अधिकारीले संसदमा सरकारको आलोचना गरे। देशव्यापी रुपमा प्रभावकारी अभियान चलाउन नसकेको भन्दै उनले ध्यानाकर्षण गराएका थिए।
तर, महामारीजन्य रोग नियन्त्रण र कार्यक्रम गर्ने जिम्मा पाएको स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक भने भुटान पुगेका छन्। मंगलबार भुटान गएका उनी आइतबार मात्र फर्कन महाशाखाले जनाएको छ।
अन्य अधिकृतस्तरका कर्मचारीसमेत डेंगु नियन्त्रणलाई बेवास्ता गर्दै अन्य कार्यक्रमका लागि कार्यालय बाहिरै छन्। बुधबार डेंगुबारे जानकारी लिन महाशाखामा टेलिफोन सम्पर्क गर्दा अधिकृतस्तरका कोही कर्मचारी नभएको जानकारी दिइएको थियो। एक कर्मचारीले आइतबार मात्र सबैसँग भेट हुने जानकारी दिए।
तर, मन्त्रालयले भने बिहीबार डेंगुबारे नै उच्चस्तरीय बैठक राखेको बताएको छ । डेंगु नियन्त्रणका लागि के गर्ने, अहिले के भइरहेको छ भन्नेबारे छलफल हुनेछ।
डेंगु नियन्त्रणमा असफल भइरहेका समयमा विदेशमा हुने कार्यक्रममा सहभागी हुन मन्त्रालयले अनुमति दिनुलाई पनि मन्त्री र मन्त्रालयलाई यो विषयलाई महत्व नदिएको जस्तो देखिएको छ।
महाशाखाका एक कर्मचारीले भने, ‘डेंगुको आंतक फैलिएको लामो समय भयो। कति जनाको मृत्यु भइसकेको छ। कति अस्पतालमा भर्ना भएका छन्। परीक्षण गर्ने कीटको अभाव, निशुल्क हुने परीक्षण कीटको कालोबजारी नियन्त्रण गर्न छोडेर वैदेशिक कार्यक्रम भन्दै जानु गैरजिम्मेवारीपन हो।’
यतिबेला ४३ जिल्लामा करिब ५ हजार मानिस डेंगुबाट प्रभावित भएको बताइएको छ। एक महिनाको अवधिमा मात्र डेंगुकै कारण हालसम्म ३ जनाको मृत्यु भइसकेको छ। तराईमा मात्र देखिने डेंगु पछिल्लो समय पहाडी जिल्लामा समेत देखिन थालेको छ।
सुनसरी, मकवानपुर, उदयपुर, कास्की, चितवन सबैभन्दा बढी प्रभावित जिल्ला रहेको महाशाखाले जनाएको छ।
संघीयता कार्यान्वयनको क्रममा मन्त्रालयले रोग नियन्त्रणका विषयमा काम गर्ने जनशक्तिको दरबन्दी कटौती भएको र कर्मचारी फाजिलमा समेत राखेका कारण जनशक्ति अभाव छ।
मन्त्रालयले जनस्वास्थ्यका ८ जना सुपरिवेक्षकबाट घटाएर ३ जनामा सिमित गरेको छ। औलो निरीक्षक ३५ बाहेक अन्य फाजिलमा छन्। स्वास्थ्य मन्त्रालय अन्तर्गत भेक्टर कन्ट्रोल सहायकदेखि अधिकृतसम्म ३५ जना ४० जिल्लामा मात्र छन्। तर यी सबै कर्मचारी फाजिलमा छन्। कीटजन्य रोगको नियन्त्रणमा काम गर्ने जिम्मवारी पाएका कर्मचारी नै फाजिलमा परेकाले रोग नियन्त्रणमा समस्या भएको हो। यस्तो अवस्थामा रोग नियन्त्रणको जिम्मा पाएको महाशाखाका प्रमुख सहितका अन्य कर्मचारीसमेत विदेश सयरमा व्यस्त छन्।
स्वास्थ्यखबरसँग कुरा गर्दै एक भेक्टर कन्ट्रोल निरीक्षकले भने, ‘सरकारले राष्ट्रियअन्तराष्ट्रिय तालिम दिलाएर सिमित जनशक्ति उत्पादन गरेको थियो। तर उनीहरूलाई कामबिहीन बनाएर राखेको छ। त्यसैले पनि तीन महिनादेखि महामारीको रूपमा फैलिएको डेंगु नियन्त्रणमा आउन नसकेको हो।’
उनले यसरी दरबन्दी कटौती हुनुमा नीतिनिर्माण गर्ने ठाउँमा कीटजन्य रोगबारे बुझेको, यो समयमा काम गर्ने जनशक्तिबारे जानकार भएको व्यक्ति नभएकोले पनि समस्या आएको बताए।
कीटजन्य रोग विशेषज्ञ केन्द्रमा २ र क्षेत्रगत ५ जना गरी जम्मा सात जना दरबन्दी काटिएको छ।