दाङ- दाङमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालाबन्दी गरिएको छ।
प्रतिष्ठान बचाउ अभियानका अभियन्ताहरुले प्रतिष्ठानको प्रशासनिक भवनमा बुधबार ताला लगाएका हुन । उनीहरुले उपकुलपति डा. संगिता भण्डारीको राजिनामा माग गर्दै नारावाजी गरेका थिए।
प्रतिष्ठानको कार्यालयमा काम गरिरहेका कर्मचारीहरुलाई कार्यलयवाट बाहिर निकालेर तालाबन्दी गरेको रजिष्टार रामप्रसाद प्याकुरेलले जानकारी दिए।
उपकुलपति मातहतका पदाधिकारी तथा कर्मचारीले चिकित्सकहरुलाई धम्क्याउने तथा मानसिक तनाव दिने काम गरेको आरोप उनीहरुले लगाएका छन्।
डा. भण्डारीको राजिनामा र बिरामीको सहज उपचारको व्यवस्था नहँुदासम्म आन्दोलन जारी राख्ने उनीहरुले बताएका छन्।
अस्पतालमा कार्यरत २२ जना चिकित्सकलाई एकै पटक हटाइएपछि अधिकारकर्मी, संचारकर्मी, स्वास्थ्यकर्मी, नागरिक समाज लगाएतको सहभागतामा प्रतिष्ठान बचाउ अभियान नामक दबाव समूह गठन भएको हो।