काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जलवायु परिवर्तनले स्वास्थ्यमा पारेको असर न्यूनीकरण गर्न कार्यक्रम सुरु गरेको छ। मन्त्रालयको समन्वय महाशाखाको नेतृत्वमा ‘कम विकसित एसियाली मुलुकमा जलवायु परिवर्तनबाट स्वास्थ्यमा पर्ने असर न्यूनीकरण’ नाम दिइएको तीनवर्षे यो परियोजना सञ्चालन हुन लागेको हो। बिहीबार मन्त्रालयले एक कार्यक्रम गर्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)सँगको सहकार्यमा तीनवर्षे परियोजना आरम्भ गरेको जानकारी दिएको हो।
पछिल्लो समय विश्वमा जलवायु परिवर्तनले विभिन्न क्षेत्रमा असर गरिरहेको र विश्वव्यापी रुपमै यसबारे विभिन्न कार्यक्रम भइरहेको समयमा नेपालमा भने जलवायु र स्वास्थ्यलाई जोडेर सुरु भएको यो नै पहिलो कार्यक्रम हो।
विश्व स्वास्थ्य संगठन र युनडिपीको सहकार्यमा भएको कार्यक्रम नेपालसँगै अन्य पाँच देशमा पनि एकसाथ सञ्चालन हुनेछ। कम विकसित देशमा जलवायु परिवर्तनले स्वास्थ्य क्षेत्रमा पारेको असर कम गर्न र स्वास्थ्य संस्था, स्वास्थ्य संरचना तथा स्वास्थ्यकर्मीलाई जानकार बनाउन परियोजनाले विभिन्न क्षेत्रसँग समन्वय गरी काम गर्ने मन्त्रालयको समन्वय महाशाखा प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले बताए। ‘पछिल्लो समय विभिन्न नयाँ रोग देखा परेका छन्। नेपालमा पनि निर्मूलको चरणमा पुगेका कतिपय रोग फेरि देखा पर्न थालेका छन्। मौसम परिवर्तनको कारणले सन् २००० पछि हालसम्म २१ वटा नयाँ रोग देखापरेको छ,' कार्यक्रम तथा समन्वय शाखा प्रमुख श्रेष्ठले भने।
विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा मोहम्मद खुर्सिद अलाम हैदरले जलवायु परिवर्तन नियन्त्रण नभए यसको प्रतिकूल असरबाट बच्न सर्तक हुनुपर्ने बताए। उनले भने, ‘तराइका क्षेत्रमा देखिएको डेंगु पछिल्लो समय हिमाली क्षेत्रमा पनि देखिन थालेको छ। जलवायु परिवर्तनले हुने असरको यो एउटा उदाहरण मात्र हो।’
यूनडिपीका नेपाल प्रतिनिधि शान्ति करञ्जितले जलवायु र स्वास्थ्यको क्षेत्रमा विशेष कार्यक्रम गर्न धेरै समय लागेको बताइन्। 'जलवायु परिवर्तन र यसको असर/प्रभावबारे अन्य क्षेत्रमा धेरै कार्यक्रम सञ्चालन भएका छन्,' उनले भनिन्,‘हामीले ढिला सुरु गरेका छौँ।'
मन्त्रालयले जलवायु परिवर्तन नीति संशोधन ड्राफ्ट पनि अन्तिम चरणमा पुर्याएको छ। मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक भीम सापकोटाले नेपालमा कीटजन्य रोगको असर बढी देखिएको भन्दै जलवायु परिवर्तनको प्रारम्भिक असर कीटजन्य रोगमा बढी देखिएको बताए। यी रोग लामखुट्टे तथा भुसुनाका प्रजाति उच्च पहाडी र हिमाली क्षेत्रमा समेत फैलिएको भन्दै जलवायु परिवर्तनको असर रहेको उनको भनाइ थियो। परियोजनाका लागि एक मिलियन अमेरिकी डलर बजेट आएको बताए। यो करिब १० करोड नेपाली रुपैयाँ हो।
उनले भने, ‘विश्वका अन्य ५ देशले पनि यही परिणामको रकम पाउनेछन्, परियोजना प्रभावकारी रूपमा सञ्चालन भएमा बजेट बढ्न पनि सक्छ तर कार्यक्रम लक्ष्य अनुसार भएन भने बजेट अन्य देशमा जान सक्छ।’
विश्व स्वास्थ्य संगठनका राजाराम पोटे श्रेष्ठले नेपालमा जलवायु परिवर्तनबारे ५० भन्दा बढी कार्यक्रम सञ्चालन भएको बताउँदै जलवायु र स्वास्थ्यलाई जोडेर पहिलो पटक कार्यक्रम सञ्चालन हुन लागेको बताए।
विश्वमा हरेक वर्ष ६ लाख मानिस मलेरिया र पाँच वर्ष मुनिका ६ लाख बालबालिका झाडापखालाले ज्यान गुमाइरहेको उनले बताए। ‘यी विषयमा जलवायु परिवर्तनले कसरी असर गरिरहेको छ भन्ने स्वास्थ्यको भौतिक संरचना, अध्ययन अनुसन्धानका साथै स्वास्थ्य सेवा प्रवाह तीन विषयमा मुख्यतः परियोजना केन्द्रित हुनेछ,’ उनले भने। यो कार्यक्रम नेपाल, बंगलादेश,म्यानमार, कम्बोडिया, इस्ट टिमोर र लाओसमा सञ्चालन हुनेछ।
कार्यक्रममा सरोकारवाला निकायका व्यक्तिहरूले तत्काल उचित कदम नचाले जलवायु परिवर्तन र यसले निम्त्याउने समस्याका कारण मानिस विभिन्न रोगको शिकार हुने र अकालमा ज्यान गुमाउनु पर्ने अवस्था सिर्जना हुने भएकाले अनुसन्धात्मक कार्यक्रम गर्नुपर्नेमा जोड दिएका थिए।