डडेल्धुरा- डा. गोविन्द केसी यतिबेला सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको भ्रमणमा छन्। बिहीबार बिहान डडेल्धुरा पुगेका चिकित्सा क्षेत्रको सुधारको माग गर्दै आएका डा. केसीले बिहीबारै डडेल्धुरा अस्पतालको अवलोकन गरेका छन्।
बुधबार डोटी जिल्ला अस्पतालको अवलोकन गरेका उनी एक्लै सुदूरपश्चिमका पहाडी जिल्लाको अवलोकनमा निस्किएका हुन्। डा. केसीले डडेल्धुरामा केही दिन बिताउने छन्।
आफू सुदूर पहाड आउनुको कारण भने उनले खोल्न मानेका छैनन्। यद्यपि, आफू पर्यटकका रुपमा सुदूरपश्चिम आएको संक्षिप्त प्रतिक्रिया दिए। ‘म आज पर्यटकका रुपमा यहाँ आएको हुँ,’ उनले भने, ‘डडेल्धुरा राम्रो लाग्यो। अबका केही दिन यतै बिताउँछु होला।’ उनी काँधमा झोला भिरेर बजारबाट हिँड्दै एक्लै अस्पतालसम्म पुगेका थिए।
अस्पताल पुगेर उनले अस्पतालको वस्तुस्थिति, बिरामीहरूको अवस्था नियालेको र सामान्य रुपमा यहाँको जनस्वास्थ्यका सवालमा कुराकानी गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्र कँडेलले जानकारी दिए।
‘उहाँले अस्पतालको वस्तुस्थिति, भौतिक पूर्वाधारको अवस्थाबारे नियाल्नुभयो,’ उनले भने, ‘अस्पतालमा जनशक्ति के कति छ? त्यसको बारेमा पनि केही सामान्य जानकारी उहाँले लिनुभयो। त्यसबाहेक अन्य कुरा केही भएन।’
डा. केसी लामो समयदेखि चिकित्सा क्षेत्र सुधारको माग गर्दै संघर्ष गर्दै आइरहेका छन्। उनले दुर्गममा पनि मेडिकल कलेज खुल्नुपर्ने माग राख्दै आएका छन्। सुदूरपश्चिमको डोटी–डडेल्धुरामा मेडिकल कलेज खोल्नुपर्ने अडान उनले राख्दै आएका छन्।
१५औँ अनशन तोड्दा सरकारसँग २०७५ साउन १० गते ‘डोटी–डडेल्धुरामा मेडिकल कलेजको सम्भावना अध्ययन’ गर्ने भनिएको थियो। त्यसका लागि ‘एक महिनाभित्र टोली गठन गर्ने’ भनिएको थियो। यद्यपि, एक वर्ष बित्दा पनि यो बुँदा कार्यान्वयन भने भएको छैन। यसै कारण डा.केसीले सुदूरपश्चिम भ्रमण गरेको हुन सक्ने आँकलन गरिएको छ।







