काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त कार्यालय प्रमुख जनस्वास्थ्य निरीक्षक भीमप्रसाद आचार्यसहित कार्यालयका तीन जनाविरद्ध विशेष अदालतमा भष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले निमित्तप्रमुख अचार्यसहित कार्यालयमा स्टोरकिपरका रुपमा कार्यरत छैटौँ तहका अधिकृत रघुनाथ रेग्मी र लेखापाल हरिशंकर शर्माविरुद्ध शुक्रबार आरोपपत्र दर्ता गरेको हो। अख्तियारले तीनैजनालाई १ लाख ३० हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम कारबाहीको माग गरेको छ।
अख्तियारले उनीहरुलाई एक लाख तीस हजार घुस वापतको रकम लिइसकेको अवस्थामा रङ्गेहात नियन्त्रणमा लिएको थियो।
अनुसन्धानको क्रममा भीम प्रसाद आचार्य, रघुनाथ रेग्मी तथा हरिशंकर शर्माले सेवाग्राहीले संचालन गरेको कार्यक्रमको पेश्की फछर्यौट गर्ने गराउने बहानामा घुस रकम माग गरी एक लाख तीस हजार घुस/रिसवत रकम लिइ बाँडीचुडी खाने बदनियतले सवारीचालक मार्फत जम्मा गर्न पठाएको देखिएको अख्तियारले जनाएको छ।
प्रेस विज्ञप्ति
जिल्ला स्वास्थ्य कार्यालय, म्याग्दीका निमित्त कार्यालय प्रमुख (जनस्वास्थ्य निरीक्षक) भीम प्रसाद आचार्य, स्टोरकिपर (अधिकृत छैठौं) रघुनाथ रेग्मी, लेखापाल हरिशंकर शर्माले कार्यालयबाट संचालित विभिन्न कार्यक्रम वापतको पेश्की फछर्यौट गरिदिने बहानामा सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिई गएको टोलीले कार्यालय प्रमुख (जनस्वास्थ्य निरीक्षक) भीम प्रसाद आचार्य, जिन्सी शाखा प्रमुख (अधिकृत छैठौं) रघुनाथ रेग्मी, लेखापाल हरिशंकर शर्मा र हलुका सवारी चालक भगदत्त जैसीलाई सेवाग्राहीसँग रू.१,३०,०००।– (एक लाख तीस हजार) घुस वापतको रकम लिइसकेको अवस्थामा रङ्गेहात नियन्त्रणमा लिएको थियो।
अनुसन्धानको क्रममा निजहरू भीम प्रसाद आचार्य, रघुनाथ रेग्मी तथा हरिशंकर शर्माले सेवाग्राहीले संचालन गरेको कार्यक्रमको पेश्की फछर्यौट गर्ने गराउने बहानामा घुस रकम माग गरी रू.१,३०,०००।–(एक लाख तीस हजार) घुस/रिसवत रकम लिइ बाँडीचुडी खाने बदनियतले सवारीचालक मार्फत जम्मा गर्न पठाएको देखिंदा निजहरुले भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा(१) को कसुर गरेको स-प्रमाण पुष्टि भएकोले निजहरूलाई बिगो रु.१,३०,०००।–(एक लाख तीस हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा(१) को देहाय (घ) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।
साथै आरोपित भगदत्त जैसीले सेवाग्राहीबाट घुस/रिसवत बापतको रकम लिई जम्मा गर्न जाने क्रममा पक्राउ परी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा(१) को कसुरको मतियारको रूपमा कार्य गरेको देखिएतापनि निजले भ्रष्टाचारजन्य कसुरमा दोषीलाई कारबाही गराउने कार्यमा आयोगलाई सहयोग पुर्याएको आधार कारणबाट निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम हाललाई सजायको मागदावीमा पूर्ण रूपमा छुट दिई आयोगको साक्षीको रूपमा पेश गर्ने।
प्रवक्ता
प्रदीपकुमार कोइराला