काठमाडौं- उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको भनाइप्रति पूर्व स्वास्थ्यमन्त्री गगन थापाले आपत्ति जनाएका छन्।
बिहीबार मन्त्रालयमा सर्वपक्षीय डेंगु नियन्त्रणका विषयमा आयोजना गरिएको बैठकमा मन्त्री यादवले स्वास्थ्य मन्त्रालयले डेंगु नियन्त्रण गर्न नसक्ने भन्दै दिएको अभिव्यक्तिप्रति थापाले आपत्ति जनाएका हुन्। मन्त्री यादवको अभिव्यक्तिले गैरजिम्मेवारीपन देखाएको उनको भनाइ छ।
काठमाडौं क्षेत्र नम्बर ४ का स्थानीयले सडक विभागमा गरेको धर्नाका क्रममा सम्बोधन गर्दै उनले डेँगु नियन्त्रणबाट सम्बन्धित मन्त्री नै पन्छिन खोज्नु गैरजिम्मेवारपन भएको बताए।
'डेँगुको महामारी फेलिएको बेला स्थानीय सरकारसँग समन्वय गर्नुपर्ने काम, प्रदेश सरकारलाई परिचालन गर्ने काम, संघ अनि सबै मन्त्रालयलाई लिएर आपतकालीन अवस्थाको नेतृत्व गर्ने काम स्वास्थ्य मन्त्रालायको हो,' काठमाडौं क्षेत्र नम्बर ४ का सांसदसमेत रहेका थापाले भने, 'स्रोतसाधन कम छ स्वास्थ्य मन्त्रालयको, तर गाह्रो हुँदाहुँदै पनि जिम्मेवारी मन्त्रालयकै हो। सबै क्षेत्रलाई आह्वान गर्नुपर्ने बेला यसरी पन्छिनु भनेको गैरजिम्मेवारीपन हो।'