काठमाडौं- नेपालबाट जापान सरकारले नर्सिङ केयर गिभर लैजाने पक्का भएको छ।
जापान सरकारको स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले सूचना जारी गरी नर्सिङ केयर गिभर लैजाने भएको जनाएको हो।
नर्सिङ केयर गिभरको रुपमा जान कामदारको आउँदो अक्टोबर र नोभेम्बर महिनामा जाँच हुनेछ।
जान चाहनेले जापनिज भाषा र सिप मूल्यांकन परीक्षा दिनुपर्ने छ। परीक्षा अक्टोबर २७ देखि २९, नोभेम्बर ५ देखि ७ र १२ देखि १४ नोभेम्बरमा हुनेछ।
उक्त जाँचका लागि जापान सरकारले पहिलो चरणमा एक हजार मात्र आवेदन लिने भएको छ।
आवेदन कसरी दिने ?
आवेदन अनलाइनमार्फत दिन सकिने र सुरुमा आवेदन दिनेलाई प्राथमिकता दिइने बताइएको छ।
सूचनामा आवेदनकर्ताले अनलाइन आवेदन दिनुअघि काठमाडौंस्थित जापनिज दूतावास र जापान फाउन्डेसनले तोकेको नेपालस्थित कार्यालयबाट अनिवार्य टोकन लिनुपर्ने छ।
जापान सरकारले नर्सिङ केयर गिभरमा जान चाहनेका लागि कुनै शैक्षिक योग्यता नचाहिने बताए पनि ‘नर्सिङ केयर स्किल इभ्यालुएसन टेष्ट’ र ‘नर्सिङ केयर जापनिज ल्याङ्ग्वेज इभ्यालुएसन टेष्ट’ पास भए मात्र पुग्ने जनाएको छ।
जापान सरकारको स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले जाँच लिने सेन्टर केही दिनमै तय हुने जनाएको छ। परीक्षा हुने भए पनि नेपालका कुन सेन्टरमार्फत परीक्षा हुने भन्ने तय भइसकेको छैन ।
परीक्षासम्बन्धी जान्नुपर्ने कुरा
स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयको वेबसाइटमा राखिएको सूचना अनुसार नर्सिङ केयर गिभरको सिप परीक्षा ६० मिनेटको हुनेछ, जसमा ४५ वटा प्रश्न सोधिने छन्।
परीक्षा कम्प्युटर–बेस्ड टेस्टिङ विधिबाट लिइने छ। ४५ प्रश्नमध्ये ४० लिखित र बाँकी ५ प्रश्न व्यावहारिक प्रश्न हुने छन् ।
नर्सिङ केयर जापानिज ल्याङ्ग्वेज इभ्यालुयसन टेष्टमा भने १५ वटा प्रश्नहरु सोधिने छ। दुवै परीक्षाका लागि एक हजार जापनिज येन लाग्ने छ।
पहिलो चरणमा १ हजार जनालाई लाने बताइएको छ।
केयर गिभर लैजाने विषयमा काठमाडौंस्थित जापनिज दूतावासले नेपालको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच सम्झौता भइसकेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग २०७५ चैत ११ गते जापानसँग भएको श्रम सम्झौता अनुसार पहिलो पटक नेपालबाट केयर गिभर लैजान लागिएको हो।