काठमाडौं– विश्व स्वास्थ्य संगठनले हेपाटाइटिस बी नियन्त्रण गर्न सफल भएकोमा नेपाललाई बधाई दिएको छ।
विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एसियाली क्षेत्र हेर्ने भारतको नयाँदिल्लीस्थि कार्यालय (सेरो)को क्षेत्रीय बैठकमा उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले यो मंगलबार सम्मान ग्रहण गरेका हुन्।
नेपालको खोप कार्यक्रममार्फत् हेपाटाइटिस बी नियन्त्रण गर्न सफल भएकोमा संगठनले नेपालसहित सेरोका अन्य ३ सदस्य राष्ट्रहरु बंगलादेश, भुटान, र थाइल्यान्ड छन्।
नेपालले यसअघि पोलियो उन्मूलन, मातृशिशु मृत्युदर नियन्त्रण, रुबेला नियन्त्रण, धनुष्टंकार उन्मूलन गर्न सफल हुँदै विश्व स्वास्थ्य संगठनबाट प्रमाणपत्र पाइसकेको छ।
पछिल्लो पटक हेपाटाइटिस बी नियन्त्रण गर्न सफल हुनुलाई नेपालको खोप कार्यक्रमको सफलतासँग जोडेर हेरिएको छ।
पाँच वर्षभन्दा कम उमेर समूहका बालबालिकाहरूमा हेपाटाइटिस बीको संक्रमण दर १ प्रतिशत कम पुगेको अवस्थालाई जनस्वास्थ्यका दृष्टिकोणले नियन्त्रण भएको मानिन्छ। नेपालले प्राप्त गरेको यो उपलब्धि कायम गर्न सके भविष्यमा कलेजोको क्यान्सर र सिरोसिस हुने दरसमेत न्यूनीकरण गर्न सहयोग हुने बताइन्छ।
नेपालसहित दक्षिणपूर्वी एसियाली क्षेत्रका सदस्य देशलाई दादुरा, हेपेटाइटिस बी, एचआईभी र सिफलिस नियन्त्रणजस्ता सार्वजनिक जनस्वास्थ्यका उपलब्धिका लागि सम्मानित गरेको हो।