भैरहवा– भैरहवास्थित भीम अस्पतालले क्षयरोगको सही निरुपण गर्नका लागि प्रयोग गरिने जिन एक्सपर्ट मेसिन जडान गरेको छ।
अस्पतालमा क्षयरोगका बिरामीको चाप बढ्नुका साथै माइक्रोस्कोपिक परीक्षणबाट खकारमा क्षयरोगका किटाणु नदेखिँदा धेरैलाई सर्नसक्ने सम्भावना भएकोले जिन एक्सपर्ट मेसिनको माध्यमबाट लुकेर रहेको क्षयरोगका किटाणु देखिने हुँदा यो मेसिन जडान गरिएको अस्पतालले जनाएको छ।
राष्ट्रिय क्षयरोग केन्दले करिब ६० लाख रुपैयाँको लागतमा जिन एक्सपर्ट मेसिन अस्पताललाई प्रदान हो। भीम अस्पताल सहित नेपालमा ६० स्थानमा यो मेसिन जाडन गरिएको राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक सागरकुमार राजभण्डारीले जानकारी दिए।
निर्देशक राजभण्डारीले नेपालमा दैनिक २२ जना क्षयरोगीले मृत्युवरण गरिरहेको र एक जना क्षयरोगीले वर्षमा दस जना निरोगी व्यक्तिलाई सारिरहेको बताए। उनले त्यसको रोकथामका लागि डट्स उपचार विधिलाई सही तरिकाले प्रयोग गर्नुपर्नेमा जोड दिए।
निर्देशक राजभण्डारीले भैरहवामा सुरु गरिएको जिन एक्सपर्ट मेसिन अत्यधिक महँगो भएको र एउटा टेस्ट गर्नका लागि करिब १ हजार ७ सय रुपैयाँ खर्च आउने भए पनि बिरामीको लागि निःशुल्क भएको हुँदा यसको सही तरिकाले प्रयोग गर्न अनुरोध समेत गरे।
मेसिनको प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले उद्घाटन गरे। मन्त्री बरालले क्षयरोगले जनस्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्ने रोग भएको हुँदा यसको समयमै पत्ता लगाई उचित उपचार गर्नुपर्नेमा जोड दिए।
उनले भीम अस्पताललाई ५० शय्यामा लैजानुपर्ने र त्यसका लागि मन्त्रालयले आवश्यक उपकरण र जनशक्तिको व्यवस्था गर्ने बताए।
प्रदेश ५ का स्वास्थ्य निर्देशक विनोद गिरीले भीम अस्पताललाई नपुग कर्मचारी नियुक्तिका लागि अधिकार दिइसकिएको बताए। उनले जिन एक्सपर्ट मेसिनको माध्यमबाट हरेक सर्वसाधारणलाई सेवा प्रदान गर्न समेत निर्देशन दिए।