काठमाडौं– स्वास्थ्य तथा शिक्षा समिति अन्तर्गतको कार्यदलले काठमाडौंको महाराजगञ्जस्थित निर्माणाधीन सुरेश वाग्ले मेमोरियल क्यान्सर केन्द्र भवन निर्माणका लागि अन्तिम पटक समय थप गर्न सिफारिस गरेको छ।
कार्यदलले स्थलगत अध्ययन गरी तयार पारेको प्रतिवेदनमा सो भवन निर्माण कार्य सम्पन्न गर्न अन्तिम पटक समय थप गर्नुपर्ने निष्कर्ष निकालेको हो।
बुधबार समितिको बैठकमा सो प्रतिवेदन पेस गर्दै कार्य दलकी संयोजक अञ्जना बिशंखेले भेरिएसन स्वीकृत भई थपिएको समय ९ महिनाभित्र सो केन्द्रको भवन निर्माण गरी हस्तान्तरण गर्नुपर्ने बताएकी छिन्। उनले भनिन्, ‘त्यो अवधिमा हस्तान्तरण नगरे ठेकेदार कम्पनी गौरा कन्ट्रक्सनसँग क्षतिपूर्ति वापतको रकम असुल गरी निजसँगको ठेक्का सम्झौंता रद्द गर्न निर्देशन दिनुपर्ने सिफारिस गरिएको छ।’
थपिएको समय भित्र सो भवन निर्माण सम्पन्न गरी हस्तान्तरण नगरे सो कम्पनीलाई कालो सूचीमा राख्न पनि सरकारलाई निर्देशन दिनुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ।
कार्यदलले सरकारले समयमै भुक्तानी नदिएका कारण सो केन्द्रको भवन निर्माण कार्य सम्पन्न गर्न ढिलाइ भएको पनि स्पष्ट पारेको छ। सो केन्द्रको भवन निर्माण कार्य ७० प्रतिशत सम्पन्न भए पनि भुक्तानी निकासामा ढिलाइ हुँदा सम्पन्न गर्ने काममा पनि ढिलाइ भएको पनि पाइएको कार्य दलकी संयोजक बिशंखेले बताइन्। भूकम्पका कारण पनि सो भवन निर्माणको काममा ढिलाइ हुन गएको कार्य दलको निष्कर्ष छ।
२०६८ साल मंसीर २८ गते निर्माण कार्य सुरु गरी ३ वर्षभित्र सम्पन्न गरिसक्ने लक्ष्य लिइएको सो केन्द्रको भवनको निर्माण कार्य बजेट निकासा र भूकम्पका कारण ढिलाइ हुन गएको दावी गरिएको छ। कार्यदलको प्रतिवेदनमा सो भवनको डिजाइनमा फेरबदल भइरहने, पानी तथा ढल निकास र सडक विस्तार कार्यले पनि सो भवनको निर्माणका कार्यमा केही अवरोध हुन पुगेको पनि कार्यदलको प्रतिवेदनमा उल्लेख गरिएको छ।