काठमाडौं- नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्रीलाई आराम गर्न दिन नेकपा नेताहरूलाई आग्रह गरेका छन्।
संसदमा नेकपाको बहुमत रहेको र सजिलैसँग संसदले नयाँ प्रधानमन्त्री छान्न सक्ने स्मरण गराउँदै थापाले प्रश्न गरे- 'नेकपामा प्रधानमन्त्री भएका व्यक्ति पार्टीमा हुनुहुन्छ। प्रधानमन्त्रीको इच्छा राख्ने व्यक्तिहरू हुनुहुन्छ। यस्तो बेलामा हामी विश्राम दिन किन चाहिरहेका छैनौं?'
'नेकपाका युवा साथीहरूले प्रधानमन्त्रीलाई 'बा' भनेको सुनेको छु। प्रधानमन्त्री हाम्रो पनि 'बा'सरह हुनुहुन्छ। हाम्रो 'बा' बिरामी हुनुभएको भए धपेडी नगर्नुस्। आराम गर्नुस्, विश्राम लिनुस् भन्थ्यौं,' उनले भने, 'हामी प्रधानमन्त्री 'बा'लाई यसो भन्न किन सक्दैनौं।'
बुधबारको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै थापाले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे सम्पूर्ण जानकारी नआएको भन्दै उनले शीघ्र स्वास्थ्य लाभको कामना गरे।
'केही चिकित्सकले संकेत गर्नुभएजस्तो पटकपटक विदेश गएर केही समय विश्राम गरेर उपचार गर्नुपर्ने भयो भने के गर्ने?', उनले भने, 'संविधानअनुसार कार्यकारी अधिकार मन्त्रिपरिषद्मा निहित छ र मन्त्रिपरिषद्को प्रमुख प्रधानमन्त्री हुनुहुन्छ। संसदको कामको सिर्जना पनि प्रधानमन्त्रीबाट हुन्छ। पछिल्ला दिनमा प्रधानमन्त्रीको कार्यबोझ बढाइएको छ। प्रधानमन्त्रीले यी सबैको इच्छाशक्ति राख्नुहुन्छ भन्ने कुरामा दुई मत छैन। तर इच्छाशक्ति मात्रै सबैथोक होइन। शारीरिक स्वास्थ्यले पनि धेरै थोक निर्धारण गर्छ।'
थापाले कार्यकारी प्रमुख लामो समय देश बाहिर बस्दा एकातिर राष्ट्रिय सुरक्षा, कूटनीतिक मर्यादा आदिमा जोखिमको प्रश्न उठ्ने बताए। उनले प्रत्येक दुई/तीन महिनामा दस बाह्र दिन देश बाहिर गएर टेलिप्रिजेन्समार्फत् मन्त्रीहरूको ब्रिफिङ लिएर देश चलाउने कुराबाट शासकीय जिम्मेवारी पूरा हुन नसक्ने बताए।
'नेपालको आन्दोलन र शान्ति प्रक्रियामा ठूलो योगदान पुर्याउनुभएको, ठूलो राष्ट्रिय जिम्मेवारी पूरा गर्नुभएको र स्वाभिमानको लडाइँमा अथक योद्धा प्रधानमन्त्री लामो समयसम्म हाम्रो बीचमा अभिभावकको रुपमा देख्न चाहन्छौं। तर शरीर सबैको शरीर नै हो। मन सबैको मन नै हो। प्रधानमन्त्रीको ईच्छाको म सम्मान गर्छु,' उनले भने।
'प्रधानमन्त्रीले सिंगापुरबाट फर्किएपछि लगातार कुनै विश्राम नलिइकन काम गर्न सक्छु भन्ने अवस्था बनोस् भनेर म प्रार्थना गर्छु,' थापाले भने।
उनले प्रधानमन्त्री एउटा मान्छे पनि हुनुहुन्छ भन्ने कुरालाई नबिर्सन आग्रह गरे।