काठमाडौं- सर्वोच्च अदालतले त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)को एमबिबिएस परीक्षा रोक्न आदेश दिए लगत्तै आइओएमका पदाधिकारीहरुको आकस्मिक बैठक बसेको छ।
सर्वोच्चले चिकित्सा शिक्षा ऐनको दफालाई आधार मान्दै परीक्षा रोक्न आदेश दिएपछि आइओएमले अन्य विषयको परीक्षा पनि रोक्ने भएको छ।
सर्वोच्चले शनिबारका लागि तय भएको आइओएमको प्रवेश परीक्षा तत्कालै रोक्न र छलफलका लागि २५ गते अदालतमा उपस्थित हुन आदेश दिएको हो।
आयुष ओझाले चिकित्सा शिक्षा ऐन विपरित परीक्षा लिन लागेको भन्दै आदलतमा रिट दायर गरेका थिए। उक्त रिटको सुनुवाई गर्दै न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले परीक्षा रोक्न आदेश दिएको हो।
परीक्षा रोक्ने विषयमा अहिले आइओएममा छलफल चलिरहेको आइओएमका डिन डा जगदिश प्रसाद अग्रवालले जानकारी दिए।
आइओएममा भइरहेको छलफलमा एमबिबिएस, बिडिएस, नर्सिङ, फार्मेसी, बिपिएच लगायतका सबै विषयको परीक्षा स्थगित गर्ने विषयमा केन्द्रित छ। छलफलमा सहभागि सबैले परीक्षा स्थगित नै गर्नुपर्ने सुझाब दिइएको छलफलमा सहभागि एक पदाधिकारीले जानकारी दिए।
आइओएमको परीक्षा, शनिबार, आइतबार र सोमबार हुने तय भएको थियो। यी परीक्षामा सबै विषयमा गरी झण्डै २० हजार विद्यार्थीले आवेदन दिएका थिए। परीक्षाका लागि देशभरबाट विद्यार्थीहरु काठमाडौं आएका छन्। यो निर्णयसँगै विद्यार्थीमा थप अन्यौल सिर्जना हुने छ।
यस्तो छ आदेश

