काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु रोगको शंका लागेका बिरामीको जाँचका लागि र्यापिड डाइगोनोस्टिक टेस्ट किट (आरडिटी) आवश्यक नहुने सूचित गरेको छ।
मन्त्रालय अन्तर्गतको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले शनिबार प्रकाशित गरेको जरुरी सूचनामा उक्त विषयको जानकारी गराइएको छ। महाशाखाले रोगको निदानको लागि अस्पतालहरुमा अत्यधिक मात्रामा आरडिटी किटको माग भइरहेको जनाएको छ।
अन्तराष्ट्रिय विज्ञहरुबाट उद्धृत गर्दै जारी सूचनामा भनिएको छ, ‘राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञहरुबाट डेंगु रोगको शंका लागेका बिरामीहरुको जाँचका लागि आरडिटी उपयुक्त र आवश्यक नहुने राय प्राप्त भएको छ।’

महाशाखाले चिकित्सकहरुको सल्लाह अनुसार व्हाइट ब्लड सेल काउन्ट, प्लेटलेट काउन्ट र हेमाटोक्रिट परीक्षण गरी रोगको निदान र व्यवस्थापन गर्न अनुरोध गरेको छ।
डेंगु ज्वरो एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो। डेंगुको भाइरसबाट संक्रमित लामखुट्टेको टोकाइले यो रोग सार्दछ। अहिले देशका विभिन्न जिल्लामा यो रोग देखापरिरहेको छ। यो रोगका कारण यो वर्ष मात्र हालसम्म ६ हजारभन्दा बढी बिरामी भइसकेको तथ्यांक आइरहेको छ।