बुटवल- रुपन्देहीमा डेङगुको संक्रमण फैलिएको छ। हालसम्म ७० जनामा डेंगुको संक्रमण भेटिएको छ। जिल्लाका सरकारी तथा निजी अस्पतालमा उपचार गराउन आएका बिरामीमध्ये ७० जनामा डेंगु संक्रमण देखिएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ।
कार्यालयका अनुसार बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल हस्पिटल प्रालि, आम्दा अस्पताल, गौतमबुद्ध मुटु अस्पताल, भैरहवाको युनिभर्सल मेडिकल कलेज लगायतका अस्पतालहरुमा परीक्षणकालागि आएकाहरुमध्ये ७० जनामा संक्रमण फेला परेको हो।
साउन २८ देखि रुपन्देहीमा डेंगुका बिरामी भेटिएको र भदौ १५ पछाडि बिरामी ह्वात्तै बढेको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए।
उनका अनुसार अहिले दैनिक १० देखि १५ जनाको हाराहारीमा बिरामी आउने गरेका छन्। रुपन्देहीको बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, सैनामैना नगरपालिका र देवदह नगरपालिकाकामा डेंगुको संक्रमण बढी मात्रामा देखिएको शाहको भनाई छ।
संक्रमण नियन्त्रणका लागि स्थानिय तहबाटै सुरुवात गर्नुपर्नेमा शाहको जोड छ।
रुपन्देहीमा २०६७÷०६८ मा पहिलोपटक डेंगुका बिरामी फेला परेका थिए। उक्त वर्ष जिल्लामा चार जनाको मृत्यु भएको थियो। त्यसयता ०७३÷०७४ मा दुई जना र ०७४÷७५ मा दुई जनाको मृत्यु भएको छ।
डेंगु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले टोकेपछि हुने एक प्रकारको ज्वरो हो। वर्षाको पानी जम्ने टीनका डब्बा, रंगका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, फुलदानी, गमलामा यसले फुल पार्ने भएकाले त्यस्ता वस्तुमा पानी जम्न नदिन चिकित्सकहरुले आग्रह गरेका छन्।
यो लामखुट्टेले विशेषगरी दिउसो टोक्ने भएकाले शरीर ढाकिने कपडा लगाउन उनिहरुको सुझाव छ।
मन्त्री केसीले भेटे बिरामी
यसैवीच प्रदेश ५ का आन्तरीक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीले लुम्विनी प्रादेशिक अस्पतालमा पुगेर बिरामीलाई भेटेका छन्।
जिल्लामा डेंगुको संक्रमण फैलिएपछि अस्पतालमा रहेका बिरामीहरुको अवस्था बुझ्न मन्त्री केसी अस्पताल पुगेका हुन्।
अस्पताल पुगेका मन्त्री केसीले अस्पतालमा रहेका बिरमीका आफन्तहरुसंग उपचारको अवस्था र अस्पतालको सेवाबारे जानकारी लिएका थिए। बेडको अभावका कारण एउटै बेडमा ४ जनासम्म बिरामी राखेर उपचार गराउन परेको अस्पतालले जनाएका छन्।