बुटवल- रुपन्देहीमा डेंगुका कारण एक जनाको मृत्यु भएको छ। कपिलवस्तुको वाणगंगा नगरपालिका–७ मोतिपुरकी सावित्रा आचार्यको उपचारका क्रममा मृत्यु भएको हो। शनिबार साँझ उनको मृत्यु भएको आफन्तले जनाएका छन्।
उनलाई बिहिबार उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको थियो। लगातार ज्वरो आएपछि उपचारका लागि अस्पतालमा ल्याइएको थियो। अस्पतालमा परीक्षणका क्रममा उनमा डेंगु संक्रमण भेटिएको थियो।
तीन दिनदेखि अस्पतालको आइसियुमा उपचाररत आचार्यको शनिबार साँझ साढे पाँच बजे निधन भएको अस्पतालले जानकारी दिएको छ। उनकोचार छोरा र दुई छोरी छन्।
रुपन्देहीमा साउन २८ गतेदेखि यता मात्र ७० जनामा डेंगुको संक्रमण भेटिएको छ। जिल्लाका सरकारी तथा निजी अस्पतालमा उपचार गराउन आएका बिरामीमध्ये ७० जनामा डेंगु संक्रमण देखिएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ।
डेंगु नियन्त्रणमा आउन नसक्दा संक्रमितको संख्या हरेक दिन बढीरहेको कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए। उनका अनुसारसाउन २८ देखि रुपन्देहीमा डेंगुका बिरामी भेटिएको र भदौ १५ पछाडि बिरामी ह्वात्तै बढेका छन्।
रुपन्देहीमा २०६७/०६८ मा पहिलोपटक डेंगुका बिरामी फेला परेका थिए। उक्त वर्ष जिल्लामा चार जनाको मृत्यु भएको थियो। त्यसयता ०७३/०७४ मा दुई जना र ०७४/७५ मा दुई जनाको मृत्यु भएको छ।