काठमाडौं– नेपाल आयुर्वेद मेडिकल काउन्सिलले पहिलो पटक लिइएको आयुर्वेद चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा प्रकाशित गरेको छ।
आयुर्वेद काउन्सिलको इतिहासमै पहिलो पटक आयुर्वेद चिकित्सकको लाइसेन्स परीक्षा लिइएको हो।
पहिलो परीक्षामा सहभागी भएका ६८ जना विद्यार्थी सबै उत्तीर्ण भएका छन्। काउन्सिलले भदौ १४ गते दर्ता लाइसेन्सको परीक्षा लिएको थियो। त्यसको आठ दिनपछि काउन्सिलले नतिजा प्रकाशन गरेको छ।
नेपाल आयुर्वेद काउसिन्लका रजिष्ट्रार डा नारायण श्रेष्ठले अन्य काउन्सिलहरुले पनि परीक्षा लिएर दर्ता प्रमाणपत्र दिने क्रम सुरु गरिसकेकोले आयुर्वेद चिकित्सकलाई समयानुकूल बनाउन परीक्षा लिन सुरु गरेको बताए।
उनले भने, ‘पहिलोपटक परीक्षा लिन सुरु गर्यौं, अबको हरेक ६/६ महिनामा परीक्षा हुन्छ।’
बिएएमएस तह सकेर कम्तीमा ६ महिनाको इन्टर्नसीप सकेका विद्यार्थीहरुले दर्ता परीक्षा दिनसक्ने रजिष्ट्रार श्रेष्ठले बताए।
यसअघि एमबिबिएस सरहको बिएमएस उतीर्ण विद्यार्थीले काउन्सिलमा नाम मात्र दर्ता गरी चिकित्सकीय अभ्यास गर्न पाउने व्यवस्था थियो।
तर, आयुर्वेद चिकित्सको परीक्षा नदिई दर्ता प्रमाणपत्र दिँदा गलत अभ्यास पनि भइरहेको गुनासो बढेको थियो। काउन्सिलले २०७६ मा बिएएमएस पढेका चिकित्सकको परीक्षा दिने निर्णय गरेको थियो।
अहिले स्नातक तह परीक्षा सुरु भएको र आगामी दिनमा स्नातकोत्तर तहको पनि दर्ता परीक्षा सुरु हुने रजिष्ट्रार श्रेष्ठले जानकारी दिए।
त्रिभुवन विश्वविद्यालय, नेपाल आयुर्वेद क्याम्पस, कीर्तिपुरले २०५३ देखि बिएएमएस कार्यक्रम सुरु गरेको थियो। हालसम्म काउन्सिलमा ६३८ जना आयुर्वेद चिकित्सक दर्ता भइसकेका छन्।
