डडेल्धुरा– सुदूरपश्चिमका ९ जिल्लामध्ये ७ जिल्लामा प्रारम्भिक चरणमा रहेको स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ। यस प्रदेशका ७ जिल्ला कैलाली, कञ्चनपुर, दार्चुला, बैतडी, बझाङ, बाजुरा र अछाममा स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बनेको स्वास्थ्य बिमा बोर्ड सुदूरपश्चिम प्रदेश संयोजक जनक साउँदले जानकारी दिए।
सुदूरपश्चिमबाटै सबैभन्दा पहिले २०७३ सालको जेठ १ गतेबाट स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको कैलालीमा हालसम्म १ लाख २४ हजार ३ सय ३३ जनाले स्वास्थ्य बिमा गराएको स्वास्थ्य विमा बोर्डको तथ्याङ्क रहेको छ। त्यस्तै बैतडीमा २०७३ फागुन १ गतेबाट सेवा सञ्चालन गरिएकोमा हालसम्म उक्त जिल्लामा १० हजार ७२ जना बिमित रहेका छन्।
अछाममा २३ हजार ८ सय २४ जना बिमित रहेका छन् भने बझाङमा हालसम्म २७ हजार ७ सय ७३ को संख्यामा बिमित रहेका छन्। त्यस्तै दार्चुलामा हालसम्म ४ हजार २ सय ४१ जनाले स्वास्थ्य बिमा कार्यक्रमको सेवा लिएकोमा कञ्चनपुरमा भने ५ हजार ९ सय १७ जनाले हालसम्म स्वास्थ्य बिमा गराएको बोर्डको तथ्याङ्कमा उल्लेख छ।
बाँकी २ जिल्लामा मंसिरसम्म सेवा आरम्म हुने
विभिन्न फेजमा नेपालका सबै जिल्लालाई समेट्नुपर्ने भएका कारण डडेल्धुरा र डोटीमा कार्यक्रम केही ढिला सञ्चालन भएको बताउँदै प्रदेश संयोजक साउँदले मंसिरबाट ती दुवै जिल्लामा सेवा प्रवाह गरिने बताए।
‘अहिले यी दुवै जिल्लाका स्थानीय तहमा जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीलाई स्वास्थ्य बिमा कार्यक्रम सम्बन्धी अभिमुखीकरण दिइरहेका छौ,’ उनले भने, ‘असोज मसान्तसम्म कार्यक्रम सकेपश्चात सबै वडामा दर्ता सहयोगी छनोट कार्यक्रम सञ्चालन गरिने छ। दर्ता सहयोगी छनोट भएपश्चात बोर्डको योजना अनुरुप मंसिर १ गतेबाट डडेल्धुरा र डोटीमा सेवा प्रभाव हुने छ।’
जसअन्र्तगत शनिबार मात्रै डडेल्धुराको अमरगढी नगरपालिकाका जनप्रतिनिधि र स्वास्थकर्मीलाई स्वास्थ्य बिमासम्बन्धी अभिमुखीकरण गराइएको साउँदले जानकारी दिए। नेपाल सरकारले सामाजिक स्वास्थ्य सुरक्षा विकास वोर्ड मार्फत २०७२ साल चैत २५ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रमको आरम्भ गरेको थियो।