काठमाडौं– देशभर फैलिएको डेंगुको भयावह अवस्थाबारे प्रतिनिधिसभामा सांसदहरुले आवाज उठाएका छन्।
आइतबारको बैठकमा सांसद डा डिला संग्रौलाले डेंगुका कारण ४ जनाको मृत्यु र हजारौँ बिरामी भएको भन्दै सरकारको ध्यानाकर्षण गराइन्।
यस्तै सांसद नरमाया ढकालले पनि डेंगु नियन्त्रणमा सरकारको कामबारे प्रश्न उठाएकी छन्।
डा पुष्पा गौतम भुसालले सरकारले डेंगु लगायत किटजन्य रोग नियन्त्रणमा काम गर्ने भेक्टर कन्ट्रोल निरीक्षक पद खारेज र जगेडामा राख्नुले समस्या बढाएको बताइन्।
उनले स्वास्थ्यसँग जोडिएको डेंगुबारे सरकारले के कार्यविधि ल्याएको सो संसदमा जानकारी गराउन आग्रह गरिन्। उनले सरकारले डेंगुले आक्रान्त बनाइरहेका बेला औलोको नियन्त्रण गर्न भन्दै बैठक बस्नुको औचित्यबारे प्रश्न गरिन्।
सांसद कृष्णगोपाल श्रेष्ठले डेंगु रोगको नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराए। उनले देशभर डेंगुको सताउदा सरकार के गरेर बसेको छ भन्दै प्रश्न गरे। उनले टेकु अस्पताल बिरामीको चाप बढेर बिरामीको कुरुवालाई समेत डेंगु संक्रमण भएको भन्दै बिरामीको विशेष उपचार व्यवस्था गर्न सरकारसँग आग्रह गरे।
उनले भने, ‘सरकारी अस्पतालदेखि ग्रान्डी, मेडिसिटी अस्पतालमा पनि बिरामीको भीड बढेको छ, हाम्रै कृषिमन्त्री ग्रान्डीको आइसियुमा उपचार गराइरहनुभएको छ।’
सासंद श्रेष्ठले आजै आफ्नो निर्वाचन क्षेत्रको न्युरोडमा ७३ वर्षीया महिलाको मृत्यु भएको भन्दै भने, ‘डेंगु भयो भनेर थाहा नपाएर ज्वरो आएको भन्दै उपचार गराउनेको गन्ती नै छैन, सरकारले के हेरेर बसेको छ।’