काठमाडौं- नेपालमा हुने कुल मृत्युमध्ये ६६ प्रतिशत मृत्युको कारण नसर्ने रोग रहेको छ। हरेक दिन नसर्ने रोगका कारण मृत्यु हुनेको संख्या बढीरहेको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन्।
राजधानीमा आइतबार आयोजित कार्यक्रममा नसर्ने रोगको भारलाई न्युनिकरण गर्न तत्कालै ठोस कदम चाल्न विज्ञले सुझाव दिएका छन्। कार्यक्रममा रोगको भार अनुसार सुरुमै रोग पहिचान गर्ने, रोग लाग्नै नदिने उपायका कार्यक्रम सहित मानिसको व्यवहार परीवर्तन गर्ने लगायतका कार्यक्रम देशव्यापी रुपमा चलाउन सुझाव दिएका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, एक्सन नेपाल र द युनियनले आयोजना गरेको कार्यक्रममा वरिष्ठ मुटु रोग विशेषज्ञ डा भगवान कोइतीव्र गतिमा बढीरहेको भन्दै तत्कालै नियन्त्रण र न्युनिकरणका कार्यक्रम अगाडि बढाउनु पर्ने बताए।
‘हामीले नसर्ने रोगको न्युनिकरणका लागि अहिले नै कदम नचालने हो भने केही वर्षपछि नेपालमा नसर्ने रोगले भयाभह अवस्था निम्त्याउने पक्का छ,’ उनले भने, ‘त्यसकारण यसको न्युनिकरणका लागि सहरदेखि गाँउसम्म सबैको पहुँचमा पुग्ने कार्यक्रम विस्तार गर्नुपर्छ।’ उनले नसर्ने रोगका कारकहरु मानिसको व्यवहार र जीवनशैलीसँग धेरै सम्बन्धित भएकाले मानिसको व्यवहार र जीवनशैली स्वस्थ बनाउने तर्फ पनि आवश्यक कदम चाल्नुपर्ने सुझाव दिए।
क्यान्सर रोग विशेषज्ञ डा विष्णुदत्त पौडेलले समयमानै पहिचान गरेर पूर्ण रुपमा निको हुने क्यान्सरको समस्या पनि नेपालमा अन्तिम अवस्थामा आउने गरेकोमा चिन्ता व्यक्त गरे। उनले उपचार र परीक्षण सेवाको विस्तारसँगै जनचेतना बढाउन सुझाव दिए।
मधुमेह रोग विशेषज्ञ डा ज्योति भट्टराईले मधुमेहलाई साइलेन्ट किलरको संज्ञा दिँदै नसर्ने रोगबाट जोगाउन धूमपान, मद्यपानसँगै सुगरी ड्रिंक्समा पनि कर बढाउने नियन्त्रण तर्फ जानुपर्ने बताइन्। ‘रोग लागेपछिको उपचार भन्दा पनि रोग लाग्नै नदिने उपाय तर्फ बढी ध्यान दिनुपर्छ’ उनले भनिन्।
विज्ञ डाक्टरहरुले मुटु, मधुमेह, उच्च रक्तचाप, मिर्गौला, क्यान्सर जस्ता नसर्ने रोगको खतरा र यसबाट जोगिने उपायका विषयमा जानकारी गराइसकेपछि कार्यक्रममा स्वास्थ्य सचिव खगराज बरालले पनि आफ्नो धारणा राखेका थिए। सचिव बरालले नसर्ने रोगको भार बढ्नुमा सबैभन्दा बढी दोषि परिवार नै भएको बताए। उनले परिवारा सदस्यले नै छोराछोरीलाई जंक फुड दिने, व्यायाम तथा हिँडडुल नगराउने, टेलिभिजन तथा मोबाइलमा मात्र अभ्यस्त गराउने क्रियाकलाप गर्दा रोगको भार बढी रहेको बताए।
‘छोराछोरीलाई अग्र्यानिक खाना दिनुको सट्टा बजारीया खाना खुवाउने र विलासी जीवन दिने नाममा शरीरलाई निष्क्रिय बनाउने क्रम बढ्दै गएकाले रोगको भार बढीरहेको हो,’ उनले भने, ‘नसर्ने रोग बढाउनुमा सबैभन्दा बढी दोष अभिभावक तथा परिवारकै हात छ। त्यसकारण अब आफ्नो व्यवहारमा परिवर्तन गर्न आवश्यक छ।’ उनले सरकारले यसको रोकथाम र न्युनिकरणका लागि आफ्नो तर्फबाट सक्दो काम अगाडि बढाउने प्रतिवद्धता पनि व्यक्त गरे।
कर्यक्रममा सांसद गणेश सिंह ठगुन्नाले सरकारको पहिलो प्राथमिकतामा स्वास्थ्य हुनुपर्ने बताए। उनले नसर्ने रोगले सहरी क्षेत्र मात्र नभई गाउँ गाउँमा समेत आक्रान्त पारिरहेको भन्दै नियन्त्रणकका कार्यक्रम विस्तार गर्न सुझाव दिए।
एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले नसर्ने रोग बढाउनमा सबैभन्दा बढी भुमिका सूर्तीजन्य पदार्थले खेलेको भन्दै यसको नियन्त्रणका लागि ल्याइएको कानुन कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेल, स्वास्थ्य मन्त्रालयका समन्वय महाशाखा प्रमुख महेन्द्र प्रसाद श्रेष्ठ, मन्त्रालयकै गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा दिपेन्द्ररमण सिंह, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक कुन्जप्रसाद जोशी लगायतले पनि नसर्ने रोगको न्युनिकरणका विषयमा आफ्ना धारणा राखेका थिए।
यो पनि :