इटहरी– नेपालकै प्रतिष्ठित स्वास्थ्य संस्थाको रुपमा परिचित छ, धरानस्थित बिपी अध्ययन प्रतिष्ठान। प्रतिष्ठानको गेटमा पुग्दा देखिने हरियाली र स्वच्छ वातावरण नै यसको एउटा सबुत हो। त्यहाँको बाहिरी वातावरणले नै सबैको मन शान्त बनाइदिन्छ।
तर, पछिल्लो समयमा बिपी प्रतिष्ठानमा बेवारिसे बिरामीको चाप अत्यधिक बढेको छ। कतिपय बिरामीले उपचार नपाएर अस्पताल परिसरभित्रै मृत्युवरण गरेका घटना पनि देखिन्छन्। प्रतिष्ठान परिसरमा यत्रतत्र यस्ता बिरामी देख्दा जोकोहीको पनि मन कुँडिन्छ।
गत शनिबार दिउँसो एउटा त्यस्तै दृश्य देखियो। इमरजेन्सी अगाडि एक जनाको शव बेवारिसे अवस्थामा थियो। उनको जिउमा झिँगा भन्किरहेका थिए भने शरीरभरि स्याउँस्याउँ किरा थिए। दुर्गन्धका कारण वरिपरि कोही जाने अवस्था थिएन, छुने र चलाउने त परको कुरा। इमरजेन्सीमा बिरामी लिएर आउनेहरु नाक थुनेर ओहोरदोहोर गरिरहेका थिए। उपचार अभावमा अस्पतालभित्रै उनको मृत्यु भएको थियो।
१५ दिन अगाडि उपचारको लागि आएका थिए उनी। नाम र ठेगाना बिनाका ती बिरामीको प्रतिष्ठानले उपचार गरेन। उनी बाहिर आएर सुते । सुतेकै अवस्थामा शनिबार दिउँसो ५ बजे उनको मृत्यु भयो। प्रतिष्ठानमा कार्यरत प्रहरी जवान मणिकुमार गिरीका अनुसार उपचार र हेरचाहकै अभावमा उनको मृत्यु भएको हो।
केही दिन अगाडि अर्का एक बिरामीको अर्थो विभागमा उपचार भइरहेको थियो। तर उनले जथाभावी दिसा–पिसाब गरेपछि अर्थोले उनलाई वार्डबाट निकाल्यो। उनी बेवारिसे भए। खुट्टा भाँच्चिएका उनी चल्न–चट्पटाउन सक्ने अवस्थामा थिएनन्।
नारायण नाम बताउने उनको सोही प्रतिष्ठानमा कार्यरत डाक्टर देवराज घिमिरेले उपचार गराउने पहल गरे। उनको पहलमा नारायणको खुट्टाको अपरेसन भयो। हाल उनैले बिरामीको हेरचाह गरिरहेका छन्। तर उनी आफ्नो कामले नभ्याउने भएपछि बिरामीले आवश्यक औषधि र सेवा पाइरहेका भने छैनन्। उनको अवस्था दैनिक कमजोर बन्दै गइरहेको छ।
नारायणसँगै अर्का एक बेवारिसे बिरामीको पनि इमरजेन्सी कक्षमै उपचार भइरहेको छ। केही बोल्न र चटपटाउन समेत नसक्ने उनी मृत्यु कुरेर बसिरहेका छन्। छालाभित्र हड्डी मात्र देखिने उनले सामान्य स्लाइन पानी बाहेक अन्य औषधि पाउन सकेका छैनन्।
बिगत लामो समयदेखि सामाजिक संस्था र प्रहरीले प्रतिष्ठानमा बेवारिसे बिरामी ल्याएर छाड्ने गरेका छन्। तर बिरामीको हेरचाह गर्ने कोही हुँदैन। बेवारिसे छाडिएकामध्ये सतप्रतिशत बिरामीको मृत्यु हुने गरेको प्रहरी जवान गिरी बताउँछन्। गत महिनामा कम्तीमा १० जना बिरामीले यसरी ज्यान गुमाएको उनको भनाइ छ।
पछिल्लो समय बढ्दै गएका बेवारिसे बिरामीको कारण अन्य बिरामीको उपचार प्रभावित बन्दै गएको छ। तर प्रतिष्ठानका निमित्त उपकुलपति गुरु खनाल भने यसलाई सामान्य समस्याको रुपमा लिन्छन्। कसैले उपचार नपाएर प्रतिष्ठानमा आउने र स्याहारसुसार गर्ने मान्छे नभएपछि मृत्यु हुने सामान्य प्रक्रिया भएको उनको भनाइ छ। आफूहरुले यस विषयमा संयन्त्र नै बनाएको भए पनि त्यो प्रभावकारी भने हुन नसकेको उनी बताउँछन्।