काठमाडौं- नेपालबाट औपचारिक प्रक्रियामार्फत अनुरोध भए भारतले स्नातकोत्तर पढ्न विद्यार्थीको सिट संख्या बढाउन सकिने जनाएको छ।
मंगलबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान आयुर्वेद क्याम्पसमा आयोजित कार्यक्रममा भारत सरकारको आयुष मन्त्रालयका प्रतिनिधि डा दिनेश उपाध्यायले यस्तो बताएका हुन्।
भारत सरकारले हरेक वर्ष नेपाली विद्यार्थीका लागि आयुर्वेदका विभिन्न विशेषज्ञ विधामा स्नाकोत्तर गर्नका लागि १० देखि १५ जनालाई छात्रवृत्ति दिँदै आएको छ।
‘सिट संख्या बढाउन समस्या छैन। आधिकारिक रुपमा प्रक्रियासम्मत हुनुपर्छ,' डा उपाध्यायले भने, 'नेपाल आयुर्वेदको उद्गमस्थल हो। यहाँ धेरै सम्भावना छन् तर सदुपयोग हुन सकेको छैन।’
भारतका लागि पूर्व राजदूत दीपकुमार उपाध्यायले नेपाल आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रले भारतसँग मिलेर आयुर्वेदका विविध विषयमा अनुसन्धान गर्नुपर्नेमा जोड दिए।
‘कीर्तिपुरमा सुविधासम्पन्न भव्य भवन छन् तर यसको भरपुर उपयोग सरकारले नै गरेन,' उनले भने, 'भारतसँगको सहकार्यमा ठूलाठूला अनुसन्धान गर्न सकिन्छ।’
नेपालस्थित भारतीय राजदूतावासका द्वितीय सचिव सिपी सिंहले आयुर्वेद चिकित्सा शिक्षा पछिल्लो पुस्ताको रोजाइमा पर्न थालेको धारणा राखे। आयुर्वेद चिकित्सामा उच्च शिक्षा पढ्न जाने विद्यार्थीको छात्रवृत्तिका लागि हरेक वर्ष अन्तर्वार्ता हुने गरेको भन्दै उनले थपे, 'नेपालका विद्यार्थी धेरै उत्कृष्ट छन्। केही नयाँ गर्ने सोच पनि छ, त्यो देखेर खुसी लाग्छ।’
उनले नेपाली विद्यार्थीले एमडीको सिट संख्या बढाउन निरन्तर अनुरोध गरेको उल्लेख गर्दै प्रक्रियासंगत माग भई आए त्यसमा समस्या नभएको बताए।
पतञ्जली योग पीठ नेपालका ट्रष्टी शालिकराम सिंहले आयुर्वेद चिकित्सा शिक्षाप्रतिको आकर्षण बढेको बताए। उनले सरकारीस्तरमा मात्र पढाइ हुने आयुर्वेद चिकित्साका लागि निजीस्तरमा पनि अध्यापन हुने क्रम सुरु भएको बताए।
नेपाल आयुर्वेद समाजको १८औं साधारण सभाको अवसर पारेर आयोजना गरिएको सो कार्यक्रममा बिएएमएस (ब्याचलर अफ आयुर्वेदिक मेडिसिन एन्ड सर्जरी) तहमा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान गरिएको थियो।
मन्चुका स्मृति कोषले उत्कृष्ट हुने डा लक्ष्मीता गैंजुलाई रु १६ हजार, द्वितीय हुने डा दीक्षा पौडेललाई रु १२ हजार र तेस्रो हुने डा सुम्मिता घिमिरे र सर्वेश्वर सौरभलाई संयुक्त रुपमा रु ८ हजारसहित सम्मान गरेको हो।
साथै, हिमालय हर्वल कम्पनीले 'आयुर्वेद जीवक पदक' डा लक्ष्मीता गैंजुलाई र डा दीक्षा पौडेललाई 'विशारद पदक'ले सम्मान गरेको थियो। दुवैलाई क्रमशः १६ हजार र १२ हजार नगदसमेत प्रदान गरिएको थियो।
कार्यक्रममा समाजको वार्षिक मुखपत्र 'आयुर भिजन'को विमोचन गरिएको थियो।