काठमाडौं- पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सांसद गगन थापाले सुत्केरी बिदा नदिई शिक्षिकामाथि मानसिक यातना दिने प्रधानाध्यापकलाई कारबाही गर्न माग गरेका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा भाग लिँदै सांसद थापाले यस्तो माग गरेका हुन्।
सांसद थापाले काठमाडौंको त्यौड माविका प्रधानाध्यापकले शिक्षिकलाई डाक्टरको सिफारिस अनुसार बिदा माग गर्दा उल्टै मानसिक यातना दिएको र शिशुको समेत मृत्यु भएको भन्दै दण्ड गर्नुपर्ने माग गरेका हुन्।
यस्तो छ संसदमा सांसद थापाले राखेको धारणा
हाम्रो संविधान भन्छ, प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यको हक हुनेछ। हाम्रो कानुन भन्छ, प्रत्येक महिलालाई प्रसूतिकर्मीबाट आवश्यक परामर्श, गर्भवती तथा प्रसूति सेवा पाउने अधिकार हुनेछ। सरकारी, गैरसरकारी वा निजी क्षेत्रमा कार्यरत महिलालाई सुत्केरी हुनु वा पछि कम्तीमा ९८ दिनसम्म तलबसहितको प्रसूति बिदाको अधिकार हुनेछ। नपुग भएमा विज्ञ चिकित्सकको रायमा एक वर्षसम्मको बेतलबी बिदाको हक हुनेछ।
तर, अवस्था यस्तो छैन। काठमाडौंको त्यौड माध्यामिक विद्यालयमा अध्यापनरत एक शिक्षिकाले चिकित्सकको रायअनुसार आराम गर्नुपर्छ भनेपछि पटकपटक बिदाको माग गर्दा पनि प्रधानाध्यापकले बिदा नदिई उल्टो मानसिक यातना दिँदा शिशु गुमाउनु परेको छ।
काठमाडौंमै विद्यालयजस्तो अरुलाई सिकाउनु पर्ने ठाँउमा प्रधानाध्यापकबाट यो व्यवहार हुन्छ भने दुरदराजको ठाउँमा कस्तो हुन्छ? हामी अनुमान गर्न सक्छौं।
यो अवस्थालाई बदल्ने सरकारसँग मौका छ। कानुन नमान्ने र महिलालाई हेप्नेलाई छाडिन्न भन्ने सन्देश प्रभावित गर्न यो अपराध गर्ने प्रधानाध्यापकलाई दण्ड दिइयोस्। यसको माग गर्दछु।