काठमाडौं– शरीरमा संक्रमण भई ज्यानै जोखिममा पार्ने सेप्सिसबारे सबै सचेत हुनुपर्ने चिकित्सकले सुझाव दिएका छन्। सेप्सिस जीवनलाई जोखिममा पार्ने एक अवस्था हो।
त्रिवि शिक्षण अस्पतालका आइसियु विशेषज्ञ डा प्रनेशसुन्दर श्रेष्ठले सेप्पिस रोग नभई एक अवस्था भएको बताए।
उनले भने, ‘सेप्पिसको पहिचान र उपचार जति सक्दो चाँडो भयो त्यति नै सहज हुन्छ, किनभने जति उपचारमा ढिलाइ भयो बिरामीलाई उति नै खतरा हुन्छ। छिटो उपचार भयो भने त्यसबाट हुने मृत्युदरलाई कम गर्न सकिन्छ।’
ब्याक्टेरिया, भाइरस र फंगसजस्ता जीवाणुका कारणले सेप्सिस हुनसक्ने चिकित्सकको भनाइ छ।
मुख्यगरी यी जीवाणुका कारण हुने रोगहरु न्युमोनिया (फोक्सो संक्रमण, पेटको संक्रमण, मिर्गौला संक्रमण, रगतको संक्रमण भएमा सेप्पिसको जोखिम उच्च रहने बताइन्छ।
क्रिटिकल केयर नर्सिङ्ग संघकी महासचिव कविता सिटौलाले सेप्सिसबारे अहिले पनि धेरै मानिसलाई जानकारी नभएको बताइन्।
‘मानिसलाई संक्रमण भएमा उपचार भएन भने त्यसले सेप्पिसको रुप लिन सक्छ, जसले मानिसको मृत्यु हुनुसक्छ,’ उनले भनिन्।
जनमानसमा सेप्सिसबारे जनचेतना जगाउन हरेक वर्षको सेप्टेम्बर १३ मा विश्वभर सेप्सिस सिवस मनाउने गरिन्छ।
आइसियु विशेषज्ञ डा श्रेष्ठले सेप्सिसले शरीरका विभिन्न अंगहरु जस्तै फोक्सो, कलेजो, र मिर्गौला कमजोर बनाउने, रक्तचाप भई नशाबाट दिइएको तरल पदार्थ (सलाइन) ले काम नगरी औषधि चलाउनुपर्ने अवस्था आउन सक्ने बताए।
पिसाबको मात्रा कम हुनु, श्वासप्रश्वासमा गाह्रो हुनु, मुटुको चाल र काम गर्ने क्षमतामा कमी, पेट दुख्नु लगायतका लक्षण देखिएमा सेप्सिस भएको हुन सक्छ।
विश्व सेप्सिस दिवस २०१९ को अवसरमा आज नेपाल क्रिटिकल केयर डेभेलोपमेन्ट फाउन्डेशन प्रभातफेरी र जनचेतनामुलक कार्यक्रम आयोजना गरेको छ।
महाराजगंजबाट सुरु भएको प्रभातफेरि नारायणगोपाल चोक पुगी पुनः अस्पताल आई सम्पन्न भएको थियो। अभिनेतृ स्वेता खड्का, विभिन्न आइसियु चिकित्सक, नर्स, विद्यार्थीलगायत प्रभातफेरीमा सहभागी थिए।
प्रभातफेरिमा सहभागी हुन शिक्षण अस्पताल पुगेकी अभिनेतृ स्वेता खड्काले हरेक मानिस सेप्सिसबारे सचेत हुनुपर्ने बताइन्। ‘यो निकै महत्वपूर्ण विषय हो, मानिस विभिन्न कारण संक्रमित सेप्सिसको अवस्था पुग्छन्, जनचेतना बढाई सेप्सिसबारे सबै थाहा दिनुपर्छ,’ उनले भनिन्।
नेपाल क्रिटिकल केयर डेभेलोपमेन्ट फाउन्डेसनले अस्पताल परिसरमा जनचेतनामूलक छलफल पनि आयोजना गरेको थियो। सो छलफलमा सेप्सिस के हो, कसरी हुन्छ, के गर्नेलगायतका विषयमा जानकारी दिइएको थियो।
विश्व सेप्सिस दिवस एक ग्लोबल सेप्सिस एलायन्सको पहलमा सन् २०१२ देखि मनाउन थालिएको हो।
सेप्सिसको बारेमा जागरूकता जगाउन विश्वव्यापी रूपमा विभन्नि कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ। विश्व सेप्सिस दिवस महत्वपूर्ण छ किनकि सेप्सिसको बिरूद्ध लड्न विश्वव्यापी रुपमा एकजुट हुनु अवसर हो।
सेप्सिसका कारण हरेक वर्ष विश्वमा कम्तीमा ८० लाख मानिसको मृत्यु हुने अनुमान गरिएको छ।