काठमाडौं- उच्च अदालत विराटनगरले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्नातक तहको प्रवेश परीक्षा लिन तर नतिजा भने सार्वजनिक नगर्न अन्तरिम आदेश दिएको छ।
न्यायाधिश महेश शर्मा पौडेलको एकल इजलासले प्रवेश परीक्षा लिन तर नतिजा, भर्ना समेतका बाँकी प्रक्रिया अघि बढाउने कार्य नगर्न नगराउन आदेश दिएको हो।
प्रतिष्ठानको प्रवेश परीक्षा भोली शनिबार हुने छ।
‘परीक्षाका लागि सबै पूर्व तयारी भई परीक्षाको अन्तिम अवस्थामा रहेको र परीक्षाका लागि विभिन्न ठाँउबाट विद्यार्थीहरु आइसकेको अवस्था समेतलाई बिचार गरी सुविधा र सन्तुलनका हिसाबले दृष्टिगत गर्दा अन्तिम सुनुवाई हुँदा ठहरे बमोजिम हुने गरी भोली हुने प्रवेश परीक्षा लिने बाहेकका रिजल्ट, भर्ना समेत बाँकी प्रक्रिया अघि बढाउने कार्य नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गरिएको छ,’ आदेशमा भनिएको छ।

