डडेल्धुरा- डडेल्धुरामा पनि डेंगु रोगका एकजना बिरामी भेटिएका छन्। बझाङको बुंगल नगरपालिका–५ का ११ वर्षीय सुरेश बोहरालाई परिक्षण गर्दा डेंगु पोजेटिभ देखिएको डडेल्धुरा अस्पतालले जनाएको हो।
उपचारका लागि डडेल्धुरा ल्याइएका उनलाई डेंगुको लक्षण देखिएपछि परीक्षण गरिएको थियो। परीक्षणका क्रममा डेंगु देखा परेको अस्पतालका डा जीवन खरेलले जानकारी दिए।
‘उनलाई लगातार १० दिनसम्म ज्वरो आएको, आँखाको नानी दुख्ने, पिसाबमा रातो रगतजस्ता लक्षण देखिएको थियो’ उनले भने ‘मिल्दो जुल्दो लक्षण देखिएकाले उनलाई परिक्षण गरिँदा डेंगु भेटियो।’
सुदूरपश्चिममा अहिले डेंगु र स्क्रब टाइफस देखिएकाले सबैले सर्तकता अपनाउनुपर्ने उनको सुझाव छ।
सुदूरपश्चिमभरी ३५ जनामा डेंगु संक्रमण
हालसम्म यस प्रदेशका ७ जिल्लाका ३५ जनामा संक्रमण देखिएको छ। डेंगुबाट एकजनाको ज्यान गइसकेको छ।
पछिल्लो तथ्याकंअनुसार कैलालीमा १६, दार्चुलामा ८, कञ्चनपुरमा ७, डोटी, अछाम, बैतडी र बझाङमा १/१ जना गरी ३५ जनामा डेंगुको संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय राजपुर दिपायलले जनाएको छ। जसमध्ये डोटीमा एक जनाको मुत्यु भएको छ।
७ जिल्लाकै बिरामीलाई डडेल्धुरा, कैलाली र कञ्चनपुरका अस्पतालहरुमा चेकजाँच गर्दा डेंगुको संक्रमण भेटिएको हो। प्रदेशभर हालसम्म ३५ जनामा संक्रमण देखिए पनि हजारौँ व्यक्ति प्रभावित भएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ। बिरामी अस्पतालको सम्पर्कमा आउने क्रम जारी रहेकाले संक्रमितको संख्या बढ्नसक्ने निर्देशनालयको भनाइ छ।
डेंगु नियन्त्रणका लागि अभियान
सुदूरपश्चिममा डेंगुको संक्रमण बढ्दै गएपछि सुदूरपश्चिम प्रदेश सरकारले नियन्त्रणका लागि अभियान थालेको छ। बिहीबार धनगढीमा डेंगु रोग व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै समाजिक विकास मन्त्रालयले प्रदेशमा ९ वटै जिल्लामा अभियान चलाइने जनाएको छ।
यसको नियन्त्रणका लागि बृृहत सरसफाई कार्यक्रम, जनचेतना विस्तार र उपचारमा सहज पहँचका लागि बजेटको व्यवस्था गरेको प्रदेश स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए।
जलवायु परिवर्तन र जनचेतना अभावका कारण डेंगुको संक्रमण बढेको सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले बताए। महामारीका रुपमा फैलिन थालेको डेंगुको नियन्त्रणका लागि मन्त्रालयबाट सक्दो प्रयास भइरहेको उनले बताए। यो रोगबाट बच्न विशेष सजगता अपनाउन मन्त्री सुवेदीले आग्रह गरे।