काठमाडौं— नेपाल नर्सिङ काउन्सिलले तीन जना सदस्यका लागि तय गरेको निर्वाचन आज हुने भएको छ। काउन्सिलले पहिलो पटक बोर्ड सदस्यका लागि निर्वाचन गर्न लागेको हो।
निर्वाचनका लागि देशका १४ स्थानमा मतदानस्थल तोकिएको छ। मतदाताले बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्न सक्ने प्रमुख निर्वाचन अधिकृत दयालक्ष्मी वैद्य(जोशी)ले जानकारी दिइन्।
उनले भनिन्, ‘काठमाडौंसहित १४ स्थानमा मतदान हुँदैछ। करिब १३ हजार नर्स मतदाताले मतदान गर्नुहुनेछ।’
मतदान प्रक्रिया सकिएपछि सोही मतदान केन्द्रमै मतगणना भई काठमाडौँं आउने र सोमबारसम्म नतिजा आउने प्रमुख निर्वाचन अधिकृत वैद्यले जानकारी दिइन्।
करिब १३ हजार मतदातामध्ये ५० प्रतिशत बढी मतदान काठमाडौं हुने काउन्सिलको भनाई छ। मतदान हुने काठमाडौंबाहेक राजधानी बाहिरका मतदान केन्द्रका केन्द्राध्यक्ष्यहरुलाई काउन्सिलबाट खटाइएका प्रतिनिधिहरुले ओरेन्टेसन दिइरहेको पनि वैद्यले बताइन्।
काउन्सिलको तीन सदस्य पदका लागि आठ जनाले उम्मेद्वारी दिएका छन्।
धनकुटा विराटनगर, सुनसरी, जनकपुर, विरगंज, चितवन, काठमाडौं, पोखरा, पाल्पा, बुटवल, सुर्खेत नेपालगञ्ज, दाङ, धनगढीमा निर्वाचन केन्द्र तोकिएको छ।
सरला केसी, जीता बराल, मित्रकुमारी देवकोटा, डा तारा शाह, कृष्णकुमारी पौडेल, तुलसादेवी अधिकारी, सीता कार्की र रीना श्रेष्ठले उम्मेदवारी दिएका छन्।
