धनगढी- नेपाल मेडिकल एसोसिएसनको आगामी अधिवेशनका लागि डा पुष्पमणि खरालले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
शुक्रबार धनगढीमा राष्ट्रिय चिकित्सक संघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
‘सुदूरपश्चिम प्रदेशमा हरेक क्षेत्रमा पछाडि परेको छ। त्यसैले मैले यस क्षेत्रमा आएर उम्मेदवारी घोषणा गरेको हुँ,' उनले भने, 'तपाईं चिकित्सक साथीहरुले मलाई साथ र सहयोग गर्नुहुनेछ भन्ने मेरो अपेक्षा छ।’
उनले चिकित्सकको पेसागत सुरक्षा, श्रमको सम्मान, आम नागरिकको स्वास्थ्यमा सुधार, चिकित्सक र अन्य क्षेत्रको सम्बन्ध सुदृढीकरण गराउन नै आफूले उम्मेदवारी दिने घोषणा गरेको बताए। ‘अहिले चिकित्सकहरु काम गर्दा असुरक्षित छन्, विभिन्न काममा आलोचित हुनुपरेको छ। त्यसैले चिकित्सकहरुको तलब, सुरक्षा र पिजी शिक्षाको अधिकतम वृद्धि गराउन मेरो पहल हुने छ,' उनले प्रतिबद्धता जनाए।
अहिले जनता, सरकार र मिडिया चिकित्सकलाई आलोचित बनाउँदै हिँडेको भन्दै उनले कुनै बिरामीको मृत्यु भयो भने मिडियाले सम्बन्धित चिकित्सकको राय नलिई समाचार प्रकाशन गरेको बताए।
पटकपटक स्वतन्त्र रुपमा उम्मेदवारी दिँदै आएका खरालले यस पटक प्यानल बनाएर उठ्ने तयारी गरेको बताएका छन्। एसोसिएसनको अधिवेशन पुस अन्तिम सातादेखि सुरु हुँदैछ।
धनगढीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले ‘सुरक्षित पेसा, खुसी चिकित्सक’ नारालाई सफल पार्न प्रदेश सरकार सहकार्य गर्न तयार रहेको बताए। ‘प्रदेशमा चिकित्सक अभाव रहेको जहाँतहीँ हल्ला छ,’ उनले भने, ‘तर, यहाँ यति धेरै चिकित्सकको उपस्थिति देख्दा प्रदेश चिकित्सकमा पनि धनी रहेछ भन्ने लाग्छ।’
चिकित्सकका समस्या भए ती अप्ठ्याराहरुलाई सुल्झाउन आफूहरु तयार रहेको उनको भनाइ थियो।
कार्यक्रममा प्रदेशको सेती प्रादेशिक अस्पताल, महाकाली प्रादेशिक अस्पताल, निजी क्षेत्रका अस्पतालका चिकित्सकहरुको सहभागिता रहेको थियो।
उम्मेदवारी घोषणाका क्रममा डा खरालले जारी गरेको विज्ञप्तिको पूर्ण पाठ
विज्ञप्ति
साथिहरु ! सुरक्षित पेशा खुशी चिकित्सकको सुदूरपश्चिम प्रदेशको अभियानमा आउँदै गर्दा आज मलाई धेरै खुशी लागेको छ। किनभने हामी सबैको उद्देश्य एउटै छ। त्यो हो नेपाल मेडिकल एशोशियसनले दत्त चित्त लगाएर मेडिकल फ्थ्रयाटरनटीको उत्थानको लागि नतिजा छिटो आउने गरी काम गरोस्।
मैले आफ्नो २१ बर्षे चिकित्सकीय अभ्यासको क्रममा झण्डै आधा समय काठमाण्डौ बाहिर काम गरेको छु। यसकारण मोफसलमा काम गर्दा आइपर्ने समस्यालाई मैले राम्रो सँग बुझ्ने मौका पाएको छु।
देश संघियतामा गइसक्दा पनी स्वास्थ्य क्षेत्रमा केन्द्रीक्रित मानसिकता अझै हावी छ। स्वास्थ्य क्षेत्रलाई चाहिने आवश्यक जनशक्ती, पुर्वाधार र उपकरण सहित तुरुन्त विकेन्द्रीकरण गरिनु पर्दछ। सेवा सुविधा पनि दुर्गम र विकटमा कामगर्नेलाई बढि हुनुपर्छ। समग्र चिकित्सकहरुको तलब, सुरक्षा र एन् शिक्षाको अधिकतम वृद्धी हुनु जरुरी छ। चिकित्सक माथी भएको विद्यमान अन्यायको समुल अन्त्य हुनु पर्छ। आज सुदूरपश्चिममा काम गर्ने चिकित्सकहरुको सुरक्षा सुविधावृद्धिको लागि यस प्रदेशका मुख्य मन्त्री तथा सामाजिक विकास मन्त्रिलाई अनुरोध गरिएको छ र वहाँहरुले हामीलाई आश्वस्त पार्नु भएको छ। हामि साच्चैनै चिकित्सा जगतको हितमा काम गर्ने भनेर मैदानमा उत्रिएका छौँ। हामिले यो क्षेत्रलाई सबल बनाएर छाड्ने छौँ। त्यसैले यो अभियानलाई हामि सबै मिलेर सफल पार्नु पर्छ।
मालाई स्वास्थ्य क्षेत्र र सम्पुर्ण चिकित्सा क्षेत्रको उत्थानको अभियानमा लाग्न कुनै स्वार्थले रोक्दैन। किनकी मैले कहिल्यै राजनितिक नियुक्ती लिएको छैन। म कुनै निजि अस्पताल, नर्सिङ्ग होम, मेडिकल कलेज वाअन्य स्वास्थ्य संस्थाको संचालक पनि छैन न त सेयर लगानी नै छ। मेरो एक मात्र स्वार्थ भनेको चिकित्सक तथा समग्र स्वास्थ्य क्षेत्रको हितमा काम गर्नु हो।
नेपाल मेडिकल एशोशियसनको कार्यक्षेत्र लाई थप मजवुत, छरितो र फराकिलो बनाउनु मेरो अर्काे स्वार्थ हो। छिमेकी देशहरुका मेडिकल एशोशियसनहरुले ठुला ठुला परिवर्तन ल्याइसकेका छन्। हामीले पनि आफै बाट र छिमेकी देशहरुबाट पाठ सिकी चिकित्सक र समग्र स्वास्थ्य क्षेत्र सुधार गर्न विलम्ब गर्नु हुँदैन।
चिकित्सकहरुको हकहित सुनिश्चीत गर्न भनेर म पटक पटक चुनावमा उठ्ने गरेको तपाइहरुलाई अवगत नै छ। विगतका चुनावहरुमा मत परिणाम ले हारे पनी मेडिकल फ्याटरनिटीको आवाज उठाउन म कहिल्यै हारेको छैन।
आदरणीय अग्रज तथा साथिहरुको अपार माया र मेरो आत्मविश्वाषले मलाई आज यो गर्न साहश दिलाएको छ की आगामी नेपाल मेडिकल एशोशियसनको चुनाबमा म अध्यक्ष पदको उम्मेदवारी दिने घोषणा सुदुर पश्चीमको बिशाल तथा सुन्दर नगरी घनगढी बाट गर्दै छु। आशा छ, मेरो यो उम्मेदवारी लाई साथीहरुले हाम्रो साझा उम्मेदवारी भनी सहर्ष स्विकार्नु हुनेछ र आ–आफ्नो ठाउँबाट सहयोग गर्नु हुनेछ।
अब सुर्योदय पश्चीमबाट पनि हुनेछ। चिकित्सा क्षेत्रमा सुनौला किरणहरुको प्रवेश हुनेछ र हाम्रो सुधारको अभियानले गति समात्ने छ। त्यसैले यो वृहत अभियानको हिस्सा बन्न हामी सबैले नेपाल मेडिकल एशोशियसनको सदस्यता लिनु पर्दछ।
अन्तीममा, अतिव्यस्तताको बावजुद पनि आफ्नो अमुल्य समय दिनु भएकोमा ञतपाइहरु सबै प्रति म हृदय देखिनै आभारी छु।
धन्यवाद
डा. पुष्प मणि खराल
९८५११३३९३७
धनगढी
२०७६/०५/२७