काठमाडौं- नेपाल नर्सिङ काउन्सिलमा रिक्त रहेको सदस्य पदका लागि भएको निर्वाचनमा २५ प्रतिशत मतदान भएको बताइएको छ।
करिब १३ हजार मतदाता रहेको निर्वाचनमा सबैभन्दा बढी काठमाडौं र सबैभन्दा कम धनकुटामा मत खसेको स्रोतले जानकारी दिएको छ। शनिबार देशभरका १४ स्थानमा बिहान ८ बजेदखि साँझ ५ बजेसम्म मतदान भएको थियो। सबैभन्दा बढी काठमाडौंमा ९ सय ७२ र सबैभन्दा कम धनकुटामा ९ मत खसेको बताइएको छ।
काउन्सिलको इतिहासमा पहिलो पटक बोर्ड सदस्यको लागि चिर्वाचन भएको हो। काउन्सिलका प्रमुख निर्वाचन अधिकृत दयालक्ष्मी वैद्य(जोशी)ले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको जानकारी दिइन्। उनले भनिन्, ‘शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ। राजधानी बाहिरका केही मतदान केन्द्रबाट जानकारी आउन बाँकी छ।’
नतिजा आइतबारै सार्वजनिक हुने अनुमान गरिएको छ। तर काउन्सिलले आधिकारिक नतिजा सार्वजनिक नगर्दै केहीले आइतबार बिहानैदेखि सामाजिक सञ्जालमा केही उम्मेद्वारलाई विजयी भएको भन्दै बधाई समेत दिन थालिसकेका छन्।
सामाजिक सञ्जालमा प्रगतिशील समूहबाट डा तारा शाह, कृष्णकुमारी पौडेल र पेशागत समूहबाट जीता बराल विजयी भएको भन्दै नर्सहरुले बधाई दिएका छन्।

काउन्सिलका तीन सदस्य पदका लागि आठ जनाले उम्मेद्वारी दिएका छन्। काउन्सिलले धनकुटा विराटनगर, सुनसरी, जनकपुर, वीरगञ्ज, चितवन, काठमाडौं, पोखरा, पाल्पा, बुटबल, सुर्खेत नेपालगञ्ज, दाङ, धनगढी निर्वाचन केन्द्रमा मतदान भएको थियो। सरला केसी, गीता बराल र मित्रकुमारी देवकोटा, डा तारा शाह, कृष्णकुमारी पौडेल, तुलसादेवी अधिकारी,सीता कार्की र रीना श्रेष्ठमध्ये तीन जना बोर्ड सदस्य छानिने छन्।
यसअघि नेपाल नर्सिङ एसोसिएसन (नान)को चुनावकै समयमा काउन्सिलका तीन सदस्यका लागि पनि मतदान हुने गरेको थियो। लामो समय नानको चुनाव नभएपछि काउन्सिलले बैठक बसी बोर्ड सदस्य रिक्त हुँदा कामकारबाही प्रभावित भएको भन्दै चुनाव गर्ने निर्णय गरेको थियो।
काउन्सिलमा अनमी सहित दर्ता भएको नर्सको संख्या झण्डै ९० हजार पुगेको छ । तर नर्सिङ संघको सदस्यता लिएको नर्सको संख्या १२ हजार ४१ मात्रै छ । मतदानमा पनि संघको सदस्यता लिएका यिनै नर्सले मात्रै भोट दिन पाउने व्यवस्था थियो ।