काठमाडौं- सर्वोच्च अदालतले चिकित्सा शिक्षाका विषयमा परेको मुद्दाका विषयमा यसअघिको अन्तरिम आदेश खारेज गर्दैै स्नातक तहको प्रवेश परीक्षा र छात्रवृत्तिका विषयमा आदेश जारी गरेको छ।
सर्वोच्चले त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, काठमाडौं विश्वविद्यालय, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कानुनका पदाधिकारीसँग गरेको बहसपछि एमबिबिए, बिडिएस, नर्सिङ लगायत स्नातक तहको प्रवेश परीक्षा रोक्न यसअघि जारी गरेको अन्तरिम आदेश खारेज गरेको हो।
सर्वोच्चले अन्तरिम आदेश खारेज गरेसँगै आइओएम, पाटन लगातय विश्वविद्यालय तथा प्रतिष्ठानहरुलाई प्रवेश परीक्षा गर्ने बाटो खुलेको छ। आदेशमा प्रवेश परीक्षासँगै छात्रवृत्तिको विषय समेत उल्लेख छ।
‘छात्रवृत्तिको सम्बन्धमा अन्तिम सुनुवाई हुँदाको अवस्थामा निरुपण हुन सक्ने नै भएको र प्रवेश परीक्षाको नतिजा लगायत अन्य निर्धारित शर्त पुरा गरेको अवस्थामा ऐनद्वारा तोकिए बमोजिम निवेदकहरुले समेत छावृत्ति प्राप्त गर्न सक्ने नै भएको हुँदा हजारौँ विद्यार्थीको प्रवेश परीक्षामा सामेल हुन तयारीको अवस्थामा रहेको र विभिन्न शैक्षिक प्रतिष्ठानको शैक्षिक कार्यतालिका नै प्रभावित हुने गरी अहिले अन्तरिम आदेश जारी गर्नु सुविधा सन्तुलनका दृष्टिले हेर्दा मनासिव देखिन आएन। तसर्थ भदौ २० मा जारी भएको अन्तरिम आदेशलाई निरन्तरता प्रदान गर्न परेन। अरु कानून बमोजिम गर्नु,’ आदेशमा भनिएको छ।

