डडेल्धुरा– डडेल्धुराको भित्री मधेशमा पर्ने जोगबुडा अस्पताल चिकित्सकविहीन बनेको छ। चिकित्सक नै नभएपछि १५ शय्याको यो अस्पताल सुनसान देखिन थालेको छ।
परशुराम नगरपालिका र आलिताल गाउँपालिकाको प्रमुख उपचार केन्द्रका रुपमा रहेको जोगबुडा अस्पतालमा कार्यरत एक मात्र चिकित्सक करुणा बज्राचार्य समायोजन भएर गएपछि अस्पताल चिकित्सकविहीन भएको हो। चिकित्सक बज्राचार्य समायोजन भएर गएको करिब तीन साता भएको छ।
समायोजनका कारण एक जना नवौं तह र दुई जना मेडिकल अधिकृतको दरबन्दी रहेको जोगबुढा अस्पताल तीन सातादेखि हेल्थ असिस्टेन्टको भरमा छ। देशैभर डेंगु, स्क्रबटाइफस र भाइरल ज्वरोका बिरामीको चाप बढेका समयमा जोगबुडा अस्पताल चिकित्सकविहीन हुँदा बिरामीलाई समस्या भइरहेको छ।
अस्पतालमा चिकित्सक नहुँदा यस क्षेत्रका बिरामी उपचारका लागि धनगढी, महेन्द्रनगर तथा भारतसम्म जान बाध्य भएको बोहरा बताउँछन्। भाइरल तथा स्क्रबटाइफसका बिरामीको चाप बढेको भए पनि जोगबुढा अस्पतालमा चिकित्सक नहुँदा अस्पतालका शय्या खाली छन्।
समायोजनमा सरुवा भएर गएपछि अहिले अस्पताल चिकित्सकविहीन बन्दा उपचार गर्न समस्या भइरहेको अस्पतालका हेल्थ असिस्टेन्ट एवं निमित्त प्रमुख तारा दत्त बोहराले बताए।
समायोजन तथा सरुवा भएर चिकित्सक सहित अन्य स्वास्थ्यकर्मी अन्यत्र गएको तर जोगबुढा अस्पतालमा कोही नआएकाले अहिले समस्या भइरहेको परशुराम नगरपालिकाका प्रमुख तथा अस्पताल विकास समिति अध्यक्ष भीमबहादुर साउँदले बताए। बारम्बार चिकित्सकको माग गरिए पनि अहिलेसम्म अस्पतालमा चिकित्सक तथा स्वस्थ्यकर्मी नआएको उनले बताए।