धनगढी- सुदूरपश्चिम प्रदेशमा डेंगु र स्क्रब टाइफसको संक्रमण भयावह बन्दै गएको छ। प्रदेशका बाजुराबाहेक अरु सबै आठ जिल्लामा डेंगुको संक्रमण देखिएको छ भने अछाम र बाजुराबाहेक अरु जिल्लामा स्क्रबटाइफस देखिएको छ।
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले जारी गरेको जानकारी अनुसार आइतबारसम्म सुदूरपश्चिम प्रदेशमा ४५ जनामा डेंगु र ७४ जनामा स्क्रब टाईफस देखापरेको छ।
सुदूरपश्चिम प्रदेशमा शनिबारसम्म स्क्रब टाइफसका विरामी ५३ जना थिए भने यो संख्या २१ जनाले बढेर आइतबार ७४ जना स्क्रब टाइफसका विरामी पुगेका छन्।
मन्त्रालयका अनुसार कैलालीमा २०, कञ्चनपुरमा आठ, दार्चुलामा आठ, डोटीमा दुई, डडेल्धुरामा तीन, बझाङमा एक, बैतडीमा एक र अछाममा दुई जनालाई डेंगुको संक्रमण भएको छ।
त्यसैगरी, डडेल्धुरामा ३५, बैतडीमा ११, कैलालीमा १९, डोटीमा तीन तथा कञ्चनपुर, दार्चुला र बझाङमा दुई/दुई जनामा स्क्रब टाइफस देखिएको छ।
डेंगुबाट डोटीका एक जनाको अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको भने धनगढीमा स्क्रबटाईफसबाट एक जनाको मृत्यु भएको छ।
यसैबीच, मानव अधिकार संरक्षण मञ्च (मासम) ले सरकारले डेंगु तथा स्क्रबटाइफस रोकथामका लागि गम्भीरता देखाउन नसकेको आरोप लगाएको छ।
मासमका सु्दूरपश्चिम प्रदेश अध्यक्ष डिल्लीराज जोशीले शनिबार एक विज्ञप्ती जारी गर्दै तत्काल आवश्यक सबै उपाय अवलम्बन गरी नागरिकको जीउज्यानको रक्षार्थ संवेदनशील भई निःशूल्क तथा सहजरुपमा स्वस्थ्य परीक्षण, उपचार र औषधिको ब्यबस्था गर्न माग गरेका छन्।
प्रदेशको सामाजिक विकास मन्त्रालयले डेंगु नियन्त्रणको लागि औषधि छर्किने, पानी जम्ने ठाउ“मा लामखुट्टे नष्ट गर्ने, अस्पतालहरूमा ज्वरो आएका बिरामीलाई छुट्टै राखेर उपचार गर्न ज्वरो क्लिनिक सञ्चालन र भारतीय सीमानाकाहरूमा स्वास्थ्य परीक्षण डेस्क राखेर महामारी नियन्त्रणको काम भइरहेको जनाएको छ।
मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले स्थानीय तहहरूसंगको समन्वयमा औषधि छर्किने र सफा पानी जम्ने ठाउँ खोजेर नष्ट गर्ने अभियान सञ्चालन भइरहेको बताए। उनले सफा पानी जम्ने ठाउ“ खोजेर नष्ट गर्ने अभियानमा स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको बताए।
उनले ज्वरो आउने व्यक्तिलाई छुट्टै राखेर उपचार गर्न अस्पतालहरूमा ज्वरो क्लिनिक सञ्चालनका लागि समेत अस्पतालहरूलाई परिपत्र भइसकेको जानकारी दिए।
त्यस्तै, भारतीय सीमानाकाहरू त्रिनगर, गड्डाचौकी र खक्रौलामा स्वास्थ्य परीक्षण डेस्क राखेर स्वास्थ्य परीक्षणका लागि सम्बन्धित स्थानीय तहलाई पत्रचार भइसकेको बताए।
धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखा अधिकृत कुम्भ शर्माले दुई महिनादेखि बन्द गरेको त्रिनगर भन्सार नाकामा राखिएको हेल्थ डेस्क आइतबारदेखि पुनः सञ्चालनमा आएको बताए। उनले डेस्कमा खटाइएका स्वास्थ्यकर्मी तालीममा गएपछि बन्द भएको र पुनः सोही स्वास्थ्यकर्मीलाई डेस्कमा पठाएर आइतबारबाट पुनः भारतबाट नेपाल आउनेहरूको स्वास्थ्य परीक्षण गर्न थालेको बताए।