काठमाडौं- नेपाल चिकित्सक संघले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का डीन प्राध्यापक डा जगदिशप्रसाद अग्रवालप्रति गरिएको दुर्व्यवहारको निन्दा गरेको छ।
संघले एक प्रेस विज्ञप्ति जारी गर्दै अन्र्तवार्ताका नाममा प्राज्ञिक क्षेत्रको महत्वपूर्ण जिम्मेवारी सम्हालेका चिकित्सकमाथी भएको दुव्र्यवहार घृणित भएको उल्लेख गरेको छ।
‘पत्रकारिता पेशालाई नै कलंकित र दुषित तुल्याउने यस्तो कार्यले समग्र पत्रकारहरुकै बदनाम गर्न खोजको छ,’ विज्ञप्तिमा भनिएको छ।
संघका महासचिव डा लोचन कार्कीले चिकित्सकको सुरक्षाका निम्ति मन्त्री परिषद्मा विचाराधीन ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ र सोको नियमावली २०६९मा ‘बिना धरौटी जेल चलानको प्रावधान’ थप गरी यथाशिघ्र पारित गर्न विज्ञप्तिमार्फत सरकारसँग अपिल गरेका छन्।
राजधानीको केन्द्रमा रहेको चिकित्साशास्त्र अध्ययन संस्थानमा यस्ता दुव्र्यवहारका क्रियाकलाप हुनुले देशभरका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकहरुको सुरक्षाबारे प्रश्न उठाएको संघले जनाएको छ।
विज्ञप्तिमा सो घटनामा संलग्नलाई छानवित गरी कारवाही गर्न सरकारसँग माग गरेको छ। यस्ता घटनामा संलग्न दोषिलाई कारवाहिको दायरा नल्याइए संघ जस्तोसुकै कडा कदम चाल्न बाध्य हुने संघले चेतावनी समेत दिएको छ।